पछिल्लो समय नेपालको राजनीति “पुरानाजति खराब नयाँजति असल” भन्ने नयाँ भाष्य स्थापित गरेर लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउँदै नेपालमा नियन्त्रित अस्थिरता बढाउने दुष्प्रयास भइरहेको छ। त्यसैले त सञ्चार माध्यमदेखि लिएर सामाजिक सञ्जालहरूबाट जनतालाई भ्रमित बनाउने गरी सूचना सम्प्रेषण भइरहेका छन्। त्यहीअनुसार टिप्पणी र विश्लेषण पनि आइरहेका छन्। यसको मुख्य उद्देश्य विचारहीन राजनीति अनि नैतिक र चरित्रहीन नेतृत्वलाई स्थापित गराएर लोकतान्त्रिक गणतन्त्रविरूद्ध माहौल तयार गर्नु र बाह्य स्वार्थअनुकुलको राजनीति र नेतृत्व बलियो बनाउनु हो।
दासतामुखी चेतनाले सधैं दासताको पक्षमा पैरवी गर्छ। जसरी झिंगाले फोहरमात्र खोज्छ, त्यसरी नै यो चेतनाले दासता रोज्छ। यतिबेला नेपालमा नियन्त्रित अस्थिरतावादीहरूको उक्साहट र लगानीमा एकाथरी सिधैं गणतान्त्रिक व्यवस्थाभन्दा राजतन्त्रात्मक व्यवस्था चाहिन्छ भनिरहेका छन् भने अर्काथरी घुमाउरो पारामा राजतन्त्रको पक्षमा माहौल बनाउँदैछन्। बहुदलमा दलविहिनता खोज्दै भन्दैछन्, “२०८४ मा राजनीतिक दलहरूलाई बाईबाई गर्नुपर्छ।” जनताले आफू र देशविरूद्ध भइरहेको यो खालको षडयन्त्रलाई बुझ्न सकिरहेका छैनन् किनभने सञ्चार र सञ्जालहरूबाट छरिएको भ्रमबाट उनीहरू प्रभावित भइरहेका छन्।
आज यो खालको माहौलले जनतालाई इमानमा बस्न, सत्यको पक्षमा उभिन, वैचारिक जगमा राजनीति गर्न र देशको स्वार्थमा क्रियाशील हुन निरूत्साहित गर्दैछ। त्यसमाथि सञ्चार र सञ्जालबाट बेइमान, असत्य, राष्ट्रघात र वंशतन्त्रको पक्षमा नियमित पैरवी गर्दा जनताले पनि इमानको वैचारिक राजनीति रोज्न, सत्यको बाटोमा हिंड्न अनि देशको स्वार्थमा आफ्नो अभिमत जाहेर गर्न सकेका छैनन्। जसले गर्दा विचारहीन राजनीति अनि नैतिक र चरित्रहीन नेतृत्वले आफूलाई बलशाली ठान्दैछ र वंशतन्त्रले यही हो मौका भन्दैछ।
वास्तवमा “लोकतान्त्रिक प्रणालीमा राजनीतिको जग बलियो बनाउने आधार राजनीतिक विचार र जनतामा आधारित कार्यकर्ताको शक्ति नै हो।” तर नेपालमा २००७ सालदेखि नै लोकतान्त्रिक प्रणाली बलियो बनाउने र स्थापित हुन नदिने दुष्प्रयास भइरहेको छ, अहिले पनि त्यो दुष्प्रयास जारी छ। यो षडयन्त्रको अन्तर्य न राजनीतिक दलहरूले जनतालाई बुझाउन सकिरहेका छन् न त जनताले बुझ्न सकिरहेका छन्। हामीले बुझ्नुपर्छ, वैचारिक राजनीतिले कहिलेकांही धक्का खान पनि सक्छ तर विचारबिनाको राजनीतिले कुनैपनि बेला देशलाई दुर्घटनामा पार्न सक्छ किनभने विचारहीन राजनीतिले अवसरवादलाई आफ्नो आधार बनाएको हुन्छ। अब कस्तो राजनीति रोज्ने भन्ने प्रश्न हाम्रा सामु तेर्सिएको छ।
विचार, व्यवहार र आचरण अनि नैतिकता र चरित्रको आधारमा हामीले असल र खराब छुट्याउन सक्नुपर्छ। सबै खराब र सबै असल भन्ने भाष्य नै गलत छ भनेर बुझ्नुपर्छ। फेरि हामीले बुझ्नुपर्छ, पुरानाजति बेठीक र नयाँजति ठीक भन्ने जुन खालको भाष्य बनाउन र स्थापित गर्न खोजिदैछ, यसका पछाडिको नियतै ठीक छैन्। यही मेसोमा अर्काथरी मान्छेहरू भन्दैछन्, राजनीति र नेतृत्व फोहरी भयो।
“न राजनीति फोहर हो न त राजनीतिक नेतृत्व नै फोहरी हो। फोहर त हाम्रो मानसिकता हो, जसले फोहर र सफा चिन्ने र छुट्याउने क्षमता देखाउन सकेको छैन्। लोकतन्त्रको चरित्र भनेको नदीमा बगेको पानी जस्तै हो, जसरी नदीको पानी बग्दै जाँदा सफा र स्वच्छ हुँदै जान्छ, त्यसरी नै लोकतान्त्रिक प्रणालीमा अभ्यास र अनुभवबाट राजनीति परिस्कृत र नेतृत्व परिपक्व बन्दै जान्छ।” यतिबेला नेपालमा दलहरू पनि सफा र स्वच्छ अनि नेतृत्व सक्षम हुने प्रक्रियामा छन्। तर यो प्रक्रिया अवरूद्ध गर्ने प्रयासमा नयाँ भन्नेहरू क्रियाशील भइरहेका छन्। त्यसैले आज हाम्रो सोच, विवेक र चेतनाले वस्तुनिष्ठ भएर सकारात्मक र रचनात्मक ढंगले चल्ने क्षमता देखाउन सक्नुपर्छ।
ईण्डोअमेरिकन शक्तिले बलियाका विरूद्ध कमजोरहरूको मोर्चा बनाएर होस् कि गलत भाष्य स्थापित गराएर होस्, नेपालमा राजनैतिक तथा संवैधानिक अस्थिरता बढाउने प्रयास गरिरहेको छ। यसको लक्ष्य नेपालमा नियन्त्रित अस्थरिता बढाउने र नेपाललाई परनिर्भर बनाउने नै हो। यसका लागि यतिबेला कम्फर्टेबल लोकप्रियतावादलाई एक ठाउँमा ल्याउन र परिपूर्ण लोकतन्त्रवादी राजनीति र नेतृत्वलाई बदनाम र कमजोर बनाउने मिसन नै चलाएको छ। यसका विरूद्ध भ्रम छर्ने काम पनि व्यापक रूपमा भइरहेको छ। तर आमजनताले यो खालको षडयन्त्रलाई चिन्न र बुझ्न नसकेको अवस्था पनि कायमै छ। यो परिस्थिति र मनस्थितिको अन्त्य गरेर राजनीतिलाई स्थिर र नेतृत्वलाई स्थापित गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने सोच हामी नेपालीहरूमा विकास हुनुपर्छ।
नेपाल समृद्ध बन्न नदिने २००७ सालदेखिको प्रयास आज पनि जारी छ। २०४६ सालको राजनैतिक परिवर्तन लगत्तै प्रचण्डमार्फत लादिएको हत्याहिंसा र ध्वंसको राजनीति होस् कि २०७९ सालको निर्वाचनमा प्रवेश गराइएको स्वतन्त्रको लौरो र रवी लामिछानेको नेतृत्वमा बजाइएको चर्चको घण्टी राजनीतिको अन्तर्य समृद्ध नेपाल सुखी नेपाली बन्न नदिने मिसन नै हो। तर हिजोआज यी तीनै प्रवृत्तिहरू सत्ताभित्र र बाहिरबाट जनतालाई भ्रमित बनाउने र भावनात्मक रूपमा भड्काउने अनि व्यवस्था असफल बनाउने अभियानमा लागेका छन्।