८ कार्तिक २०८१, बिहिबार 1729821761
Banner

भूकम्पपीडित राहतका लागि कुन तहका कर्मचारीको कति रकम काटिने ?

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा पाँच करोड ९५ लाख रुपैयाँ जम्मा भएको छ । गत आइतबारदेखि मंगलबारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सो रकम जम्मा भएको हो ।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई राहत सहयोगका लागि सरकारले देश र विदेशमा रहेका नेपालीलाई सहयोगका लागि अपिल गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आर्थिक प्रशासन शाखाका प्रमुख सूर्य भण्डारीका अनुसार मंगलबारसम्म बैंकमा जम्मा भएको रकम ५ करोड ९५ लाख रुपैयाँ हो । उनका अनुसार सहयोगी दाताहरुबाट प्रधानमन्त्रीलाई हस्तान्तरण भएको चेक सम्बन्धित बैकमा क्लियरेन्सका लागि पठाइएको छ ।

उनले भने,‘ हामीले तोकेको बैंकहरुका खातामा अहिलेसम्म जम्मा भएको रकमको विवरण यही हो, थुप्रै चेकहरु आएका छन्, बैंकमा क्लियरेन्सका लागि पठाएका छौँ ।’

भूकम्प पीडितलाई राहत दिनका लागि सरकारी कर्मचारीको तलब पनि काटिने भएको छ । भूकम्प पीडितलाई सहयोगार्थ सरकारी कर्मचारीको तलब कट्टा गर्ने मन्त्रिपरिषद्को निर्णय गरिसकेको छ । निर्णयअनुसार सहसचिवदेखि मुख्यसचिवसम्मको तीन दिनको, शाखा अधिकृतदेखि उपसचिवसम्मको दुई दिनको र यस मुनिका तहका कर्मचारीको एक दिनको तलब कट्टा हुनेछ ।