९ कार्तिक २०८१, शुक्रबार 1729844179
Banner

नेकपा (एमाले)काठमाडौं महानगर कमिटी बुद्धिजीवी परिषद्मा नेपाल संवतबारे चर्चा

काठमडौं । बागमती प्रदेशका सांसद तथा पूर्वयोजना आयोगका उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले काठमाडौं महानगरपालिकामा हिजो भत्किएका घरहरु बनाउनेहरुलाई विस्थापित गरेर आज भत्काउनेहरुको वर्चस्व कायम भएको बताएका छन् ।

राजधानी काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब काठमाडौं उपत्यकामा भत्किएका घर बनाउने नेकपा एमाले स्थापित हुनुपर्ने बताए ।

आज विद्यार्थीहरु लोन लिएर बाहिर जाने र विश्वविद्यालयमा तालाबन्दी हुने,बेरोजगारको अवस्था विकराल हुने र देशैभरि गठबन्धनको नाममा ठगबन्धनहरु मुलुकलाई भ्रष्टाचारको जालोमा फसाउन सकिन्छ भनेर लागेको बताउँदै उनले भने, ‘ मुलुकको राष्ट्रिय राजनीतिले नेकपा (एमाले)लाई खोजिरहेको छ । ’

नेपाली जनताको टाउकोमा २२ खर्बभन्दा बढी रहेको बताउँदै उनले सरकारले अहिले पुँजीगत खर्च गर्न नसकेको उनको भनाइ छ । उनले भने, ‘ नेकपा एमाले गरिबीको पक्षमा उभिन चाहन्छ । काठमाडौं उपत्यकाको विकासको मोडलबारे नेकपा एमालेले नेतृत्व गर्छ ।’

नेकपा एमालेले महानगरपालिकासँग सहकार्य गरी काठमाडौं उपत्यकाको विकासका लागि काम गरिरहेको सो क्रममा देवकोटाले बताए । नेपाल संवतलाई राष्ट्रिय संवत बनाउन आवश्यक पहल गर्नुपर्ने उनको भनाइ छ । काठमाडौंका ३२ वटै वडामा बुद्धिजीवी परिषद् गठन गरी अघि बढ्न उनले आग्रह गरे ।

यस्तै, नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटी इन्चार्ज तथा पूर्वमन्त्री रामेश्वर फुयालले विश्वविद्यालयमा इतिहास र संस्कृतिबारे पढाइ हुन छाडेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

‘आज काठमाडौंको बीचमा बहने टुकुचा अर्थात् इच्छुमतिमा सुन खोज्ने चलन छ । टुकुचामा सुन खोज्ने काम भइरहेको छ ।’
उनले शंखधर शाख्वासँग जोडिएको बालुवा सुनमा परिणत भएको, र निरंकुश शासनबाट प्रताडित जनतालाई ऋण मोचन गराएको यथार्थ भएको उनले बताए ।

सो क्रममा बहादुर शाहले नेपाल संवत चलनमा ल्याएको स्मरण गर्दै शाहकालमा पनि नेकपा एमालेले दक्षिण ढोकामा बहादुर शाहको शालिक बनाएको बताए ।

यस्तै, नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाडौं महानगरका पूर्वमेयर विद्यासुन्दर शाक्यले नेपाल संवतलाई नेकपा एमालेले मात्रै राष्ट्रिय संवतका लागि मुख्य एजेन्डा बनाएको बताएका छन् । नेकपा एमालेबाहेक अन्य कुनै पनि पार्टीले नेपाल संवतको विषय नउठाएको उनले बताए ।

विसं २०५५ मा नेकपा एमालेले जिल्ला कमिटी गठन गरी नयाँ वर्ष मनाएर औपचारिक रुपमा नेपाल संवत मनाउन सुरु गरेको उनले बताए । शंखधर शाख्वालाई राष्ट्रिय विभूति घोषणा र राजपत्रमा प्रकाशित गर्न काठमाडौं जिल्लाले सुरु गरेको स्मरण गरे ।
उनले भने, ‘उपत्यका र अन्य सरकारी निकायसँग समन्वय गरेर हामी अघि बढ्यौँ । नेपाल संवतले सरकारी मान्यता पाउनैपर्छ भन्ने थियो । नेपाल संवतलाई जन्मदेखि मृत्युसम्म प्रचलनमा ल्याइरहेका छौँ । तसर्थ नेपाल संवत राष्ट्रिय संवत हो । शखधर शाख्वालाई राष्ट्रिय विभूति घोषणामा नेकपा (एमाले)जोडिएको छ ।’

शाक्यले नेपाल संवतलाई राष्ट्रिय संवत बनाउन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको महत्वपूर्ण देन रहेको बताए । सो क्रममा उनले आफ्नै पालामा इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्ने अवसर प्राप्त भएको बताए ।

यस्तै, काठमाडौं जिल्लाका इन्चार्ज तथा पूर्वमन्त्री आनन्द पोखरेलले लिच्छवीकालमा शासकले आफ्ना पुर्खाको नामबाट संवत चलाएको अवस्थामा शंखधर शाख्वाले सबै जातजातिलाई जोड्ने खालको नेपाल संवत चलाएको बताए ।

उनले भने, ‘शाख्वाले नेपाल संवत चलाएर बाइसे, चौबिसे राज्य भएको अवस्थामा अहिलेको शब्दमा भन्ने हो भने अर्गानिक संवत चलाए । नेपाल संवतले तत्कालीन अवस्थामा नेपालका जातजाति भाषाभाषीलाई एक ठाउँमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’ काठमाडौं महानगर कमिटी अध्यक्ष निर्मल देउलाले नेपाल संवत कुनै एउटा समुदायको मात्रै संवत नभएर राष्ट्रिय संवत भएको बताए ।

नेपाल संवत राष्ट्रिय संवत हुनुपर्छ भन्नेमा नेकपा एमालेले मुद्दा उठाएको बताउँदै उनले भने, ‘नेकपा एमालेले हरेक वर्ष शंखधर शाख्वालाई सम्झिने गरेको छ ।’

कार्यक्रममा प्रा.डा. कल्पना श्रेष्ठले नेपाल संवतको अवधारण प्रस्तुत गरेकी थिइन् । यस्तै प्रा.डा.तथा टिप्पणीकार मीना पौडेलले गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने कुरा जसरी पुरातात्विक रुपमा प्रमाणित हुन्छ त्यसैगरी शंखधर शाख्वा र नेपाल संवतबारे प्रमाण संकलन भइसकेका र नेपाल संवतलाई राष्ट्रिय सम्वतको रुपमा मनाउनुपर्ने बताइन् ।
कार्यक्रममा काठमाडौं महानगरपालिका बुद्धिजीवी परिषद्का अध्यक्ष गोपाल ध्वजकारले स्वागत मन्तव्य राखेका थिए भने सलिन श्रेष्ठले कार्यक्रमको व्यवस्थापन गरेका थिए ।