८ कार्तिक २०८१, बिहिबार 1729821617
Banner

लप्सीफेदीमा प्रहरी पोष्ट राख्न जाँदा सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । शुक्रबार राति चार जना र आज बिहान १० जना गरी १४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

आज बिहान पक्राउ पर्नेमा तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रञ्जित तामाङसहित १० जना पक्राउ परेका छन् । शुक्रबार राति जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा र हर्कमान वाइवा पक्राउ परेका थिए । नेपाल विद्युत प्राधिकरणले लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा विवाद हुँदा शुक्रबार राति प्रहरी र स्थानीयबीच झडप भएको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार सबस्टेसनको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठकबाट प्रहरी नायव उपरीक्षक डिएसपीको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय भएको थियो । सोही निर्णय बमोजिम शुक्रबार प्रहरीको टोली लप्सीफेदी पुगेको थियो । तर, स्थानीयले बाटोमा रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीहरुलाई ढुङ्गामुढा गर्दै आक्रमण गरेका थिए ।