८ कार्तिक २०८१, बिहिबार 1729814877
Banner

उर्लाबारी आगलागी अपडेट : घाइतेमध्ये ६ को अवस्था सिकिस्त

काठमाडौं । मोरङको उर्लाबारी आगलागीमा उपचाररत घाइते बिरामीमध्ये छ जनाको अवस्था जटिल छ । कीर्तिपुर बर्न अस्पतालमा उपचाररत घाइतेमध्ये छ जना घाइतेको अवस्था गम्भीर रहेको अस्पतालकी मेडिकल डाइरेक्टर डा.निजीना ताम्राकारले जानकारी दिनुभयो । 

कात्तिक २६ गते मोरङको उर्लाबारीको एक सुन पसलमा भएको आगलागीमा परी २८ जना घाइते भएका थिए । ताम्राकारका अनुसार घाइतेमध्ये २५ जना कीर्तिपुर बर्न अस्पतालमा उपचाररत छन्। उपचाररत बिरामीमध्ये छ जना जटिल अवस्थाका बिरामी सघन उपचार कक्षमा उपचार भइरहेको ताम्राकारले बताउनुभयो ।  

उहाँले भन्नुभयो, “उर्लाबारी आगलागीमा घाइते २५ जनामध्ये छ जनाको अवस्था जटिल छ । सघन उपचारमा रहेका ५० प्रतिशत बिरामीको अवस्था जोखिमपूर्ण छ ।” उहाँका अनुसार अन्य घाइते बिरामीको शल्यक्रियाको लागि आवश्यक विज्ञ चिकित्सकहरूको टोली नेपाल आइसकेको र शल्यक्रियामा आवश्यक सामग्री तयारी अवस्थामा छ । 

आगलागीमा घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यमन्त्री माेहनबहादुर बस्नेतले उपचार खर्च तिर्न नसक्नेको उपचार खर्च राज्यले बेहोर्ने आश्वासन दिनुभएको थियो ।