९ मंसिर २०८१, आइतबार 1732480644
समाचार

कोरोनाबाट मृत्यु भएकी चालिसेका छोराको पढाइको जिम्मा मन्त्री बस्नेतले लिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोरोना सङ्क्रमणबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा लिनुभएको छ ।

चालिसे कोरोना महामारीबाट मृत्यु हुने पहिलो नेपाली हुनुहुन्थ्यो । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ राम्चेकी चालिसेको सुत्केरी भए लगत्तै कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । विसं २०७७ जेठमा चालिसेको मृत्यु हुँदा छोरा सफल नौ दिनका थिए ।

सफलको पढाइको जिम्मा लिएसँगै मन्त्री बस्नेतले उनलाई आज टोखा नगरपालिका–९ गोँगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिनुभएको हो । उहाँले चालिसेको छोरा सफलको पठनपाठनको खर्चस्वरुप आज रु ६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।

मन्त्री बस्नेतले सफलको कक्षा १२ सम्मको पढाइ खर्च आफूले बेहोर्ने बताउनुभयो । मृतकका पति विमल चालिसेले मन्त्री बस्नेतको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।