९ मंसिर २०८१, आइतबार 1732431808
Banner

कोशी प्रदेश कसैको बिर्ता होइन, सामना गर्न नपरोस् : अध्यक्ष ओली

पर्वत-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश कसैको बिर्ता नभएको बताउनु भएको छ।

मध्यपहाडी लोकमार्ग केन्द्रित ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा’ का क्रममा आज पर्वतको कुश्मामा सन्देश सभालाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनु भएको हाे।  उहाँले केही पहिचानवादीहरुले एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा कोशी प्रदेश प्रवेश गर्न नदिने सन्दर्भलाई लिएर कोही प्रदेशमा एमाले प्रवेश गर्न नदिने भन्नेहरूलाई बुद्धि सच्याउन आग्रह गर्नुभयो।

अध्यक्ष ओलीले एमाले कहाँ जान पाउने ? कहाँ जान नपाउने ? भन्ने कुरा सिकाउन आवश्यक नरहेको जिकिर गर्नुभयो । उहाँले कोशी प्रदेशमा एमालेलाई प्रवेश गर्नै नदिने भन्ने फुर्ती नलगाउन चुनौती दिनुभयो। प्रवेश गर्न दिन्न, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्ने आतंककारी कुराहरूको सामना गरेर अघि बढ्ने चेतावनी दिनुभयो।

ओलीले भन्नभयो, ‘पहिचानको नाममा, पहिचानवादका नाममा नेपाली जनतालाई फेरि अलमल्याउने, भ्रममा पार्ने, फाटो पार्ने, त्यस प्रकारका क्रियाकलाप हुँदैछन्। अहिले कोशी प्रदेशबाट, कोशी प्रदेशमा कोशी प्रदेश नाम राखियो, सबैको साझा नाम राखियो। एउटा पृष्ठभूमि विशेषको नाम राखिएन भनेर केही तत्वहरु, वितण्डा मच्चाउनलाई ठूलो तत्व चाहिँदैन, धेरै ठूलो शक्ति चाहिँदैन। विदेशबाट सञ्चालित, कसैको इसारामा नेपालमा एकता हुन नदिने, नेपालमा शान्ति हुन नदिने, नेपालमा लोकतन्त्र हुन नदिने, त्यसप्रति जनताको विश्वास हटाउने, अशान्ति मच्चाउने, शान्ति खलबल्याउने र देशलाई असहज स्थितिमा पारेर अरुकै स्वार्थ पूरा गर्ने प्रयासमा यस्ता तत्वहरू लागिरहेका छन्।’

उहाँले भन्नुभयो, ‘कसैको बिर्ता होइन कुनै भूभाग नेपालको । प्रवेश गर्न दिन्न, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्नेखालका आतंककारी कुराहरु हामीले धेरै देखेका छौँ । यस्तो फुर्ती नलगाए हुन्छ। हामीले सामना गर्न नपरोस्। म उहाँहरूलाई भन्न चाहन्छु, यो बुद्धि छिट्टै सच्याउनुस् । यो बुद्धि फेरिहाल होइन भने यस बुद्धिले तिमीहरूलाई सर्वनाश गर्छ।’

प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै अध्यक्ष ओलीले आफन्तका लागि बाहेक जनता, लडाकु, घाइते, शहीद, शहिदका परिवारका लागि केही गर्न नसकेको बताउनु भयो। उहाँले भन्नभयो, ‘सबै फलेको फुलेको छ, छोरी, ज्वाईं, नाति नातिना सबै फलेको फुलेको छ। जनता, लडाकू, घाइते, शहीद, शहिदका परिवार बिर्सिएका छन् यिनीहरुले। आफ्ना निम्ति फलिफाप भएको छ।

अध्यक्ष ओलीले सरकारको नालायकीले प्रतिगामी शक्तिहरु फेरि उठ्न थालेको बताउनु भयो।