बारा : भारतीय सुटर सुजित सिंह बाराबाट पक्राउ परेका छन्। भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१ सिंह नेपालमा बसेर अपराधीक क्रियाकलाप गर्दै आएका थिए।
उनलाई बारा प्रहरीले एक थान पेस्तोल र ५ थान गोलीसहित पक्राउ गरेको बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए। उनलाई प्रहरीले पक्राउ गर्न खोजेपछि भागेकोले खुट्टामा गोली प्रहार गरी पक्राउ गरिएको एसपी काफ्लेले बताए। सिंहको दुवै खुट्टामा गोली लागेको छ।
गत असोजको दोस्रो हप्ता बाराको सदरमुकाम कलैयामा वडा नम्बर ६ मा दुई मोटरसाइकलमा आएका चार जनाको अज्ञात समूहले बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश स्वर्णकारलाई दिन दहाडै गोली प्रहार गरी हत्या गरेका थिए। सुजित सिंहसहित अन्य ३ जना मिलेर स्वर्णकारको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। घटनाको तीन दिन पश्चात प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । सिंह भने फरार थिए । प्रहरीले देखेर भाग्न थालेपछि सिंहलाई खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रिन्सिपल स्वर्णाकारको हत्या आरोपमा यसअघि बाराको कलैया उपमहानगरपालिका–२ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह प्रहरी हिरासतमा छन् ।
खुट्टामा गोली लागेका सिहलाई कलैया अस्पतालमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ।