काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सम्बोधन गर्दैछन्। प्रधानमन्त्रीले पहिलो दिन नै सम्बोधन गर्ने कार्यक्रम रहेको हो। ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगाण्डाको राजधानी कम्पालामा भोलिसम्म चल्नेछ।
परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा सम्बोधन गरेपछि उनी त्यहाँका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन्।
शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्रीले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्चपदस्थहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ। नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो । स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो । सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड हिजो बिहान युगान्डा गणतन्त्र प्रस्थान गरेका थिए ।
सम्मेलनमा सहभागी हुन बुधबार राति युगाण्डा प्रस्थान गरेका प्रधानमन्त्री आइतबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ।