काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा.राजन भट्टराईले ‘नेपाली भूमिमा कुनैपनि प्रकारको भारतबिरोधी गतिबिधि हुन दिनु हुन्न’ भन्ने मान्यताप्रति एमाले सधैं प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) भोजपुर–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध : वर्तमान अवस्था र भावी चुनौतीहरु’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै डा. भट्टराईले नजिकको छिमेकी भारतसँग नेपालको बहुआयमिक सम्बन्ध रहेको उल्लेख गर्दै छिमेकीसँगको सम्बन्धमा एमाले कहिल्यै उत्तेजित र उत्ताउलो नभएको बताउनुभयो । तर नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राख्न भने एमाले सधैं जहिल्यै दृढ रहने बताउनुभयो ।
‘हामी भारतीय बिरोधी होइनौं, नेपाली भूमिमा भारत बिरोध गतिबिधि हुन दिन्नौं, हामी नेपाललाई भारत बिरोधी मुलुकको रुपमा अघि सार्न चाहन्नौं । तर हाम्रो राष्ट्रिय हित, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको सवालमा चुप लागेर कहिल्यै बस्दैनौं,’ विदेश विभाग प्रमुख डा. भट्टराईले भन्नुभयो, ‘हामी चाहान्छौं, भारतले पनि एउटा स्वाधीन र स्वतन्त्र मुलुकको रुपमा हाम्रो सम्मान गर्नुपर्दछ ।’
डा. भट्टराईले नेपालको स्वाधिनता र स्वाभिमान रक्षाको निम्ती नेकपा (एमाले)ले सम्झौताहिन संघर्ष गर्दै आएको बताउनुभयो । टनकपुर सम्झौताको बिरोध, कालापानीमा भारतीय सेनाको अतिक्रमणको बिरोध, असमान सन्धीहरुको बिरुद्धमा एमालेले आवाज उठाउदै आएको उल्लेख गर्दै यी अडानहरु स्वाधीन मुलुकको स्वाभिमान रक्षाको लागि जायज अडान भएको बताउनुभयो ।
नेकपा (एमाले) भोजपुर–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष पूर्वा तेन्जी शेर्पाले प्रस्तुत गरेको ‘नेपाल–भारत सम्बन्ध स् वर्तमान अवस्था र भावी चुनौतीहरु’ बिषयक कार्यपत्र माथि टिप्पणी गर्दै परराष्ट्र विद् हिरण्यलाल श्रेष्ठले वर्तमान सरकार इतिहासकै लम्पसारवादी सरकार भएको बताउनुभयो। वर्तमान सरकारले नेपालको स्वाधीनता र स्वाभिमानको रक्षा गर्न नसक्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा पुर्वमन्त्री कृपाशुर शेर्पा नेकपा एमालेका केन्द्रीय सदस्य लगायत विज्ञहरुको सहभागिता रहेको थियो ।