भैरहवा – फागुन लागकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु प¥यो । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए । जिप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
बिहीबार कपिलवस्तुको सुरही नाकामा बस दुर्घटना हँुदा पनि १० जनाले ज्यान गुमाउनु प¥यो । सोही बसमा सवार अन्य ३० जना घाइते भएको प्रहरीको भनाइ छ । बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको जनाइएको छ । गत माघमा दाङको भालुवाङमा बस दुर्घटना हँुदा १२ जनाको मृत्यु भएको थियो । तीव्र गतिमा रहेको बस ट्राफिक प्रहरीलाई छल्दै सोझै राप्ती नदीमा खसेको थियो । यी घटनाहरु त प्रतिनिधिमूलक घटनामात्र हुन् । लुम्बिनी प्रदेशमा मात्रै पछिल्लो चालु आर्थिक वर्षको छ महिनामा दुई सय ८५ जनाले ज्यान गुमाएको प्रहरी तथ्याङ्क छ । फागुन महिनामा मात्रै २२ जनाले ज्यान गुमाएको र घाइतेको गम्भीर अवस्थालाई हेर्दै यो सङ्ख्या अझै बढ्न सक्ने ट्राफिक प्रहरीको भनाइ छ । विशेषतः प्रदेशको पहाडी जिल्लामा भएको दुर्घटनामा परेर हताहत हुने सङ्ख्या बढी रहेको छ । ट्राफिक प्रहरी, सवारी चालक एवं बस व्यवसायीहरुको चेपुवामा यात्रुहरुले ज्यान गुमाइरहँदा यी सरोकारवाला एकअर्कालाई दोषारोपणम दिइरहेका छन् ।
ट्राफिक प्रहरीले चालक, सडकको अवस्था एवं सवारीको स्थितिलाई देखाउँदै यिनीहरुलाई दुर्घटनाको कारक बताइरहेको छ । बस व्यवसायीहरुले भने ट्राफिक प्रहरीले दुर्घटनाका नाममा अनावश्यक जाँच गरी मानसिक तनाव दिएको आरोप छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसार्इंले प्रारम्भिक अनुसन्धानमा चालककै लापारबाहीका कारण दुर्घटना भएको बताउनुभएको छ । तीव्र गति, अत्यधिक भारवहनका कारण पाल्पा र कपिलवस्तुको दुर्घटना भएको उहाँको भनाइ छ । हालको घटनामा चालकको लापरबाही देखिए पनि दुर्घटनामा अन्य कारणले पनि प्रभाव पार्ने गरेको उहाँ बताउनुहुन्छ । मुख्यतयाः चालक तथा यात्रुले ट्राफिक नियमको पालना नगर्नु, सडकको अवस्था, सवारी साधनको अवस्था, मापसे, चालकहरु पेसाप्रति जवाफदेही नहुनु, भौगोलिक विकटता, अत्यधिक सवारी चापलगायत कारण लुम्बिनी प्रदेशका दुर्घटनाका मुख्य समस्याका रुपमा रहेका छन् ।
प्रहरी उपरीक्षक प्रसाईँले दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीसंग सीमित स्रोत साधन रहेको बताउनुभयो । “ट्राफिक व्यवस्थापन प्रविधिमैत्री र डिजिटाइलेजेसन गर्न आवश्यक छ, अहिले ट्राफिक प्रहरीमा यी दवैको खाँचो छ,” उहाँले भन्नुभयो, “हामीले पर्याप्त कारबाही गरेका छौँ, प्रहरीले सचेतनासँगै सजाय गरे पनि त्यो पर्याप्त हुन सकेको छैन ।” उहाँले ट्राफिक प्रहरी प्रविधि र उपकरणमा कमजोर रहेको बताउनुभयो । यसका लागि स्थानीय निकायहरुसँग पटकपटक अनुरोध गरे पनि त्यो सफल हुन भने नसकेको उहाँको भनाइ छ । उहाँको सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरी मात्र नभई सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने तर्क छ ।