११ मंसिर २०८१, मंगलबार 1732631705
Banner

आजदेखि उपत्यकामा चल्ने सार्वजनिक बसको भाडा बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले समायोजन गरेको नयाँ भाडादर आजदेखि लागू भएको हो ।

श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आजदेखि लागू हुने गरी गत चैत २४ गते नै भाडा वृद्धि गरेको थियो । समायोजन भएको उक्त भाडादर आजदेखि लागू गरिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ ।

नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ । यस्तै, ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ ।