नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट अकारण चोइटिएको एकीकृत समाजवादी नामको पार्टीका नेता कार्यकर्ताहरू जिल्ला नै खाली गरेर आफ्नो मूल घर नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा फर्कने क्रम तीव्र बनेको छ । जिल्लागत तथ्याङ्क हेर्दा माधव नेपाल समूहको सानो केन्द्रिय टुकडी मात्र बाँकी बसेको छ । त्यहीकारण एमालेलाई सिध्याउने ठूलो हुङ्कारका साथ पार्टीबाट बाहिरिएका माधव नेपाल र झलनाथ खनाल अहिले आफ्नो राजनीतिक जीवनको सबभन्दा तनावपूर्ण अवस्थामा हुनुहुन्छ ।
विगतको आम निर्वाचनमा एमालेलाई सिध्याउने देशी-विदेशी ग्र्यान्ड डिजाइनमा सामेल हँदा पनि,माओवादी कांग्रेसबाट इमान्दारीका साथ भोट पाउँदा पनि र सत्तामा बसेर चुनाव लड्दा पनि कमरेड माधव नेपालको पार्टी राष्ट्रिय हुन सकेन। राष्ट्रिय हैसियत नरहे पनि नेपाली कांग्रेसको ठोस मतको कारण प्रतिनिधिसभामा दश सिट जितेको सो पार्टीका अध्यक्ष माधव नेपाल हाल प्रधानमन्त्रीको उधारो आश्वासनमा बाँचिरहनु भएको छ । जुन असंभव प्रायस् छ । राजनीतिक हिसाबले, संवैधानिक हिसाबले र धराप गठबन्धनको कारणले यो आश्वासन कोरा आश्वासन मात्र बन्ने निश्चित छ ।
गठबन्धनभित्रैबाट भएको अन्तरघातबाट इलाम क्षेत्र नं १ बाट हराइएका भनिएका सो पार्टीका सम्मानित नेता पूर्वप्रदानमन्त्री झलनाथ खनालको तनाव बेग्लै छ । जनताको बहुदलीय जनवादसँग सुरूदेखि नै असहमत उहाँ अहिले त्यो समूहभित्र पार्टीको विचार जबज हुनुहुँदैन भनेर लडिरहनु भएको छ । तर न माओवाद, न माओत्सेतुङ विचारधारा न नौलो जनवाद न जनताको बहुदलीय जनवाद कुनैलाई हृदयदेखि समर्थन गर्न नसकेका उनी आफैं विचारशून्य अवस्थामा पुगेका छन् । जनताको बहुदलीय जनवादको विरोधमा डल्लुमा घनश्यामजी सँग बसेर बेला(बेला ‘वैचारिक’ बहस छेड्नु अर्कै कुरा हो ।
गिरिजाप्रसाद कोइरालाको ‘सदासयता’को कारण केही समय प्रधानमन्त्री हुँदा ललिता निवास जग्गाा प्रकरण र जग्गासम्बन्धी अरू निर्णयमा विवादमा रहेका माधव नेपाल तथा प्रचण्डसँग छापामार शैलीमा मिलेको चोचोमोचोका कारण करिब आधा वर्ष प्रधानमन्त्री बनेका र संसदको बहुमतले समर्थन गरिरहेको अवस्थामै प्रधानमन्त्री पद थाम्न नसकेर बालुवाटार छोडेर हिडेका झलनाथ खनालबाट एकीकृत समाजवावादी वा वैज्ञानिक समाजवादी वा कुनै नामको पार्टी चल्ले अवस्था अब रहेन । तत्कालीन माले र एमालेको विचार, सिध्दान्त र कार्यशैलीको लक्षमणरेखा भन्दा बाहिर गएर यी द्वय नेताले कुनै चमत्कार गर्ने सम्भावना अब रहँदै रहेन। त्यो कटु सत्य बोध गरेर नै हिजो झुक्किएर वा झोंकले वा साच्चिकै एमालेबाट अलग भएका नेता-कार्यकर्ता दिन दुगुना रात चौगुना एमालेमा फर्किरहेका छन् ।
एमाले आफूले बनाएको भनेर दावी गर्न नथाकेका यी दुई पूर्व प्रधानमन्त्रीहरू जीवनको उत्तरार्ध्दमा आफैंले बनाएको घर आगो लगाउने विन्दुमा पुग्नुभयो । आफू तत्कालीन मालेको युवा महासचिव हुँदा चालिसको दशकमा दक्षिणपन्थको उछित्तो काड्ने ‘अभिमन्यु’ झलनाथ खनाल सर्वमान्य कम्युनिष्ट नेता भएर बस्ने बेलामा त्यही दक्षिणपन्थको चङ्गुलमा फस्नुभयो । नेपाली कम्युनिष्ट आन्दोलनको सर्वाधिक लोकपृय नेता मदन भण्डारीको षणयन्त्रपूर्वक हत्यापछि करिब डेढ दशक एमालेको शक्तिशाली महासचिव बन्नुभएका माधव नेपाल प्रधानमन्त्री पदको मृगमरिचिकामा सबै गुमाउनु भयो । देउवा र प्रचण्डको जतिसुकै गुलामी गरे पनि हातलाग्यो शून्य । सत्ता गठबन्धनको जतिसुकै बचाउ गरे पनि आफूले प्रधानमन्त्री खाने भनेको बेला स्वस्थानी ब्रतकथामा क्षुधाग्रस्त चन्द्रावतीले खाना खान खोज्दा सो खाना खरानी भएको र खरानी नै भए पनि खाउँ भन्दा हावाले खरानी उडाएको प्रसङ्ग माधव नेपालसँग ठ्याक्कै मिल्छ । त्यहीमाथी झन सत्ता गठबन्धन भत्किदै नयाँ गठबन्धन बन्दै गरेको चर्चा छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) जसपा, नेकपा एससहितको गठबन्धन टुटेर नयाँ समीकरणको सरकार बन्ने भएको छ । पछिल्लो सहमतिअनुसार एमाले, माओवादी, रास्वपा र जसपा अन्र्तगतका नयाँ गठबन्धनको तयारीले माधव नेपालको होस झनै उडेको होला ।
उहाँको इगो, कुण्ठा र आवेगको नराम्रो सिकार केन्द्रमा, प्रदेशमा, जिल्लामा र पालिका तहमा राम्रो सम्भावना बोकेका निकै नेता-कार्यकर्ताको घमाइलो राजनीतिक जीवनमा ग्रहण लाग्यो । एकाद प्रतिशतले गठबन्धनको आशीर्वाद पनि पाए हुनन्, बाँकी सबैको राजनीतिक यात्रामा गत्यावरोध उत्पन्न भयो । ठूलो क्षति भयो । उहाँहरूको स्वार्थको सयौंले बलिदान गर्नु पर्यो । राजनीति धरापमा राख्नु पर्यो । विडम्वना
बलवान समयले कसैलाई पर्खँदैन। जतिसुकै कालो भए पनि एकदिन बादल फाट्छ। जतिसुकै खग्रास ग्रहण लागे पनि त्यसको हट्ने समय हुन्छ। अल्मलिएकाहरूको चेत एकदिन छर्लङ्ग खुल्छ। त्यता बाँकी पनि अविलम्ब एमालेमै फर्कनेछन्। एकदिन यस्तो आउन सक्छ, माधव नेपालसँग गायत्री नेपालमात्र र झलनाथसँग रविलक्ष्मी चित्रकारमात्र रहनु हुनेछ ।
केही भन्नु छ माधव कमरेड ? जे एन कमरेड ? कार्यकर्ता कोही बाँकी नभएपछि पार्टी बनाउने गुड्डी किन हाँक्नु ? महाधिवेशनको तारतम्य किन चाहियो ?