नेपाली राजनीतिमा आरोह अवरोह आउनु सामान्य जस्तै बन्दै गएको छ । प्रजातन्त्रको स्थापना , त्यसपछिको २०१७ सालको महेन्द्रको ‘कु‘ पन्चायती व्यवस्था, २०४६ सालको जनआन्दोलन मार्फत प्रजातन्त्रको पुनर्स्थापना ,माओवादी सशस्त्र द्वन्द्व , २०६२र२०६३ को दोस्रो जनआन्दोलन हुदै निरंकुश राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना सत्तरी बहत्तर बर्ष भित्र भएका यति धेरै राजनीतिक परिवर्तनका घटनाहरु घटदा पनि देशको राजनीतिले अझै सही दिशा दिन सकेन ।
२०७२ सालमा गणतान्त्रिक संविधान बने पश्चात् केही होला ,अब त राजनीतिक स्थायित्व आउला ,अब देश समृद्धिको बाटोमा जाला भन्ने जनअपेक्षा दलिय स्वार्थप्रेरित र कपटपूर्ण राजनीतिले धुलिसात पार्यो । हुँदा हुँदा एउटै घोषणापत्र लिएर चुनावमा गएका बामपन्थी दलहरू बिच स्वार्थ केन्द्रित राजनीतिले देश समृद्ध बन्ने जनविश्वास पानीको फोका झै भयो । त्यसपछि नेपाली पोलिटिक्समा सुरु भयो प्रचण्ड राजनीति ।
यस्तो राजनीतिका मुख्य पात्र बने ‘पुष्प कमल दाहाल’ आफ्नै पार्टीको सरकार जसलाई पुष्प कमल दाहाल आफैले कम्युनिष्ट सरकारले अब ५० बर्ष नेपालमा शासन गर्छ भनेर घोषणा गरेको ३४ महिनामा नै आफ्नो स्वार्थ पूरा नहुने देखेपछि आफैले भन्ने गरेको दक्षिणपन्थी पार्टीसंग गठजोड गर्न पुगे र फेरि भन्न थाले ‘हाम्रो गठबन्धन जुगौ चल्छ’
चुनाव जित्न गाह्रो थियो, गठबन्धन अपरिहार्य देखे । निर्वाचन परिणाम पश्चात् देउवा प्रधानमन्त्री हुने भए भनेपछि बालकोटको बार्दलीमा पुगेर के पि ओलीसंग हात हल्लाएर प्रधानमन्त्री पडकाए । दुई महिना पुग्दा नपुग्दा एउटा बहाना झिके ‘राष्ट्रिय सहमति’ राष्ट्रपति निर्वाचनको बहानामा बालकोट त्यागेर बुढानिलकण्ठ पुगि ‘बाटो बिराएको थिए अब पुरानै घरमा आए’ भन्न भ्याए ।
एक बर्षसम्म जसोतसो काङ्ग्रेससंगको गठबन्धनको प्रधानमन्त्री बने । नेपाली काङ्ग्रेसले महासमिति बैठकबाट आगामी चुनावमा कसैसँग गठबन्धन नगर्ने नीति लियो , राष्ट्रिय सभा अध्यक्षको चुनावको बहाना बनाएर फेरि ‘आफ्नै गाउँ फर्की आए’ शैलीमा ८४ को चुनावमा एमालेसंग गठबन्धन गर्ने गोप्य सहमति गरि एकातिर राजनीतिक रुपमा सुरक्षित हुन चाहे भने अर्कोतर्फ आफ्नो सत्ता सकुशल लम्ब्याउन सफल भए । त्यसपछि खुला रुपमा भन्ने गर्छन् ‘म रहुन्जेल नेपाली राजनीतिमा यस्तो उथलपुथल आइरहन्छ ।’
यस्तो बेइमानीपूर्ण राजनीतिक छाडा प्रवृत्ति नेपाली पोलिटिक्समा प्रचण्डरुपमा प्रवेश गरेको छ र यो प्रवृत्तिलाई निस्तेज पार्न अत्यन्त जरुरी
छ । यसलाई निस्तेज पार्न तत्काल माओवादीबाट धोखा खाएको काङ्ग्रेसले ६ महिना भित्र परिस्थिति अनुकूल बनाइ के पी ओलिलाई प्रधानमन्त्रीको अफर गरि नेपाली राजनीतिमा देखिएको अस्थिर चरित्र सदाको लागि समाप्त गर्दै राजनीतिक स्थिरता, दलिय स्वच्छ प्रतिस्पर्धा ,जिम्मेवार राजनीतिक दलहरूबीच सहकार्यको दिशा तर्फ नेपाली पोलिटिक्सलाई अगाडि बढाउनुपर्छ । केपी ओलीको यही प्रस्तावलाई देउवाले अस्विकार गरेको परिणाम काङ्ग्रेसले मात्र हैन सिङ्गो देशले भोग्नुपरेको कुरा स्वयं देउवाले बताएकाछन् ।
‘बल अब देउवाको कोर्टमा’ यसलाई करेक्सन गर्ने मुख्य जिम्मेवारी देउवाको रहेको छ । आशा गरौ नेपाली पोलिटिक्सको प्रचण्ड राजनीतिको अन्त्य चाडै हुनेछ ।