२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 6:08 pm
Banner

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालको शानदार जित

सूचना प्रेस २०८० चैत्र १३ मंगलबार ००:००, १६:४१ बजे १ मिनेट पढाइ

काठमाडौं । आयरल्यान्ड ‘ए’ विरुद्धको खेलमा नेपाल ७१ रनले विजयी भएको छ। मंगलबार त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड ‘ए’ १८.३ ओभरमा अलआउट भएको हो। नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले ३/३ विकेट, करण केसी, कुशल भुर्तेल र विवेक यादवले १/१ विकेट लिएका हुन्।

आयरल्यान्डका स्टीफन डोहेनीले सर्वाधिक २६ रन बनाएका थिए। अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।

नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९८ रन बनाएको थियो। नेपालका लागि गुलशन झाले सर्वाधिक ४६ रन, कुशल मल्लले ३४ रन, कप्तान रोहित पौडेलले ३३ रन, कुशल भुर्तेलले २५ रन, अनिल शाहले १२ रन, आशिफ शेखले ११ रन, सन्दीप जोराले २१ र विवेक यादव ७ रनको योगदान गरे। जोरा अन्तिम बलमा क्याच आउट भएका थिए।

आयरल्यान्ड ‘ए’का लागि म्याथ्यु फोस्टरले ३ विकेट, बेन व्हाइटले २ विकेट, ग्याभिन होए र फिओन ह्यान्डले १/१ विकेट लिए।

सोमबार भएको खेलमा ६ विकेटले नेपाल विजयी भएको थियो। आयरल्यान्डसँगको शृंखलापछि नेपालले बरोडा र गुजरात क्रिकेट संघको टोलीसँग मार्च ३१ देखि अप्रिल ७ सम्म एसएमएस फ्रेन्डसिप कपमा प्रतिस्पर्धा गर्नेछ। आज विवेक यादव र शाह टोलीमा आउँदा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी बेन्चमा बसेका छन्।