काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र संरक्षक रेशमलाल चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटवार्ता गरेको छन् । प्रधानमन्त्री प्रचण्डसँग रञ्जिताले आज बिहान छलफल गरेकी थिईन् । रञ्जिता छलफलबाट बाहिरिएको केही घण्टापछि प्रधानमन्त्री प्रचण्ड भेट्ने रेशम पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्ड र रेशम–रञ्जिताबीच सत्ता समीकरण र प्रदेश सरकारको विषयमा छलफल भएको थियो । सरकारमा सहभागी हुने वा नहुने विषयमा रेमश र रञ्जिताबीच विवाद कायम छ । रेशम र रञ्जिताबीचको विवादले नाउपा फुटको संघारमा पुगेको छ । हिजो रञ्जिता पक्षधरहरुमाथि पार्टी कार्यालयमै हातपात भएपछि विवाद झनै चुलिएको छ । पार्टी कार्यालयमै हातपात भएपछि दुवै पक्षले एकअर्कालाई आरोप–प्रत्यारोप लगाउँदै पत्रकार सम्मेलन समेत गरे ।
संरक्षक चौधरीले प्रधानमन्त्री प्रचण्डले छलफलका लागि बोलाएपछि आफू गएको बताए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन र नयाँ समीकरणअनुसारको सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए ।
रेमश केन्द्र सरकारमा अहिले सहभागी हुन नहुने अडानमा छन् । तर, उनी वर्तमान सुदूरपश्चिम सरकार जोगाइराख्न चाहन्छन् । रञ्जिता भने नयाँ सत्ता समीकरणमा सहभागी हुनुपर्ने अडानमा छिन् । रेशमको असहमतिबीच विद्रोह गरेर रञ्जिताले वर्तमान सरकारलाई विश्वासको मत दिएकी थिईन् ।