७ मंसिर २०८१, शुक्रबार 1732286867
Banner

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्ने भएको छ । बैठकले इलाम निर्वाचन क्षेत्र नं. २ मा वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको उम्मेदवार छान्ने छ ।

कांग्रेस नेता मीनबहादुर विश्वकर्माका अनुसार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा मङ्गलबार बसेको संसदीय बोर्डको बैठकमा प्रदेश कार्यसमितिले सिफारिस गरेका उम्मेदवारको नामावलीमाथि छलफल भएको छ । उहाँले भन्नुभयो, “उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा बुधबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्छ ।”

इलाम–२ बाट निर्वाचित एमाले उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङको गत भदौ २६ गते र सुदूरपश्चिम प्रदेश सभाका लागि बझाङ क्षेत्र नं. १ (क) बाट निर्वाचित कांग्रेस नेता पृथ्वीबहादुर सिंहको गत असार २५ गते दुर्घटनामा निधन भएपछि दुवै क्षेत्रमा उपनिर्वाचन तय भएको हो ।

कांग्रेस कोशी प्रदेश कार्यसमितिले नेताहरू भेषराज आचार्य, केशव थापा, डम्बरबहादुर खड्कासहित छ जनाको नाम सिफारिस गरेको छ । सभापति देउवाले इलाम जिल्ला सभापति खड्काको नाम उम्मेदवारका लागि प्रस्ताव गर्नुभएको छ । केन्द्रीय सदस्य डा. शेखर कोइराला नेता आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडानमा हुनुहुन्छ । यसैबिच कांग्रेस संसदीय बोर्डको बैठकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा गर्नुपर्ने र राजीनामा नगरे प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने निष्कर्ष निकालेको छ ।