८ मंसिर २०८१, शनिबार 1732367011
Banner

सुहाङ नेम्वाङले गराए मनोनयन दर्ता

विराटनगर । इलाम क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा वाम गठबन्धनका सुहाङ नेम्बाङले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका सुहाङका प्रस्तावकमा रामप्रसाद सुवेदी र समर्थकमा धीरेन्द्र शर्मा रमण रहेका छन् ।

सुहाङले मनोनयन दर्ता गर्न जानुअघि भानु रत्न चोक इलाममा रहेको शहीद रत्नकुमार वान्तावासहित बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार सबैभन्दा पहिला जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङले मनोनयन दर्ता गराएका छन् ।

यस्तै नेपाल मजदुर किसान पार्टीका श्याम दर्जीले पनि मनोनयन दर्ता गरेका छन् । यस्तै डाकप्रसाद गौतमले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका छन् । पहिचानवादीका तर्फबाट डाकेन्द्रसिंह थेगिमले मनोनयन दर्ता गराएका छन् । उनलाई जनता समाजवादी र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीले समर्थन गरेका छन् ।

थेगिमलाई प्रदेश नम्बर १ पुन नामकरण संयुक्त सङ्घर्ष समितिले पहिचान पक्षधरको साझा उम्मेदवार बनाएको हो । त्यस्तै एकीकृत समाजवादीका जीतबहादुर राईले पनि मनोनयन दर्ता गराएका छन् । रास्वपाबाट केही बेरमा मिलन लिम्बूले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । त्यस्तै नेपाली कांग्रेसले पनि मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।