काठमाडौं- प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।
छोराछोरीले आज आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउन दिने एवम् मीठामीठा-तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डदान तथा ब्राम्हणलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उहाँका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । यस अवसरमा चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा आज ठूलो मेला लाग्छ । आमा नहुनेहरुले त्यहाँ गएर स्नान गरि पिण्ड एवम् सिदा दान गरेमा आमाको मृत आत्माले शान्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । स्वस्थानी व्रतकथाअनुसार यो तीर्थमा सतीदेवीको अंग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको कथन छ । त्यसकारण पनि यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा सो कार्य गर्ने सन्तानले जीवनभर सुखसन्तोष पाउने जनविश्वास छ ।