४ आश्विन २०८१, शुक्रबार 1726880583
Banner

प्रधानमन्त्रीलाई किन प्रधानमन्त्री बनेको हुँ भन्ने नै थाहा छैनः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताएका छन्। शनिबार नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डलाई आफू प्रधानमन्त्री किन भएको हो भन्ने नै थाहा नभएको बताएका हुन्।

‘माओवादीको प्रमुख जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको कुनै मेसो पनि छैन। किन प्रधानमन्त्री हुनुभएको भन्ने थाहा पनि छैन,’ उनले भने, ‘के को लागि हुनुभएको हो ? के गर्ने हो ? उहाँ प्रधानमन्त्री नभए के हुन्छ अहिले ? केही पनि छैन। खेलोफड्को गर्ने, प्रधानमन्त्री यता आएपनि बन्ने। उता आएपनि बन्ने। बनिराख्ने भन्ने छ।’

उनले देशको अर्थतन्त्र बिग्रिएको जिम्मेवारी नलिएको पनि बताए। यसअघि कांग्रेस सँगको गठबन्धनमा सरकार बनाउँदा अर्थतन्त्र बिग्रिएको आरोप कांग्रेसमाथि लगाएर पन्छिएको पनि उनले बताए।

‘अबको यो दिनमा हाम्रो अर्थतन्त्र बिग्रिँदै जाँदा अहिलेको प्रधानमन्त्रीले त्यसको बारेमा जिम्मा लिएर जवाफ दिनुहुन्छ भन्ने मलाई पटक्कै लाग्दैन। किनभने योभन्दा एक वर्ष अगाडि उहाँकै प्रधानमन्त्रीत्वमा हामी सरकारमा थियौं। त्यो बेलामा पनि राम्रो भएन,’ उनले भने, ‘तर त्यो राम्रो नभएको हिसाबकिताब उहाँले के गर्नुभयो ? उहाँले जिम्मा लगाइदिनु भयो, कांग्रेसको मानिसहरू थिए, मैले काम गर्न सकिनँ भनेर प्रधानमन्त्रीले पन्छाइदिएर निस्कनुभयो।’

यस्तै सत्तारूढ दल नेकपा एमाले सरकारमा भएर पनि बाहिर बसे जस्तो गरेको उनले बताए। बजेट बनाउँदा नेकपा माओवादीले मात्रै बनाएको भन्ने भाष्य निर्माण गरेको उनले बताए।