४ आश्विन २०८१, शुक्रबार 1726846788
Banner

गृहमन्त्री लामिछानेको रिटमा आज सुनुवाई हुँर्दै

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिटको पेसी आजलाई तोकिएको छ । असार ७ गते ‘हेर्दाहेर्दै’मा परेको रिटमा आजलाई पेसी तोकिएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा परेको रिटमाथिको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । लामिछानेको रिट यही इजलासले टुंग्याउनेछ । सहकारी ठगीमा नाम जोडिएका गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले पत्र दिँदै कतै पनि उजुरी र अभियोजन नरहेको बताएपछि त्यसविरुद्ध अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए ।

अधिवक्ता भट्टराईले दायर गरेको रिटमा यसअघि सहकारी ठगीमा कास्कीबाट लामिछानेविरुद्धको उजुरी र बुटवलको सुप्रिम सहकारीको अभियोजनको मिसिल झिकाउने आदेश भएको थियो ।

अघिल्लो पेसी गत बुधबार न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा परेको थियो । तर, पेसी चढिसकेपछि न्यायाधीश शर्माका पूर्व ल फर्म पार्टनर रमेश बडालले वकालतनामा चढाएपछि मुद्दा हेर्न नमिल्नेमा परेर रोकिएको थियो । रिटमा सहकारी संस्थाको बचत अपचलनका आरोपित गृहमन्त्री लामिछानेले नेपाल प्रहरी र महान्यायाधिवक्ता कार्यालययबाट ‘क्लिन चिट’ लिँदै अनुसन्धान प्रभावित बनाएको दाबी गरिएको छ । उनले लामिछानेको निलम्बनका निम्ति प्रधानमन्त्रीका नाममा आदेश माग गरेका छन् ।

संघीय संसद्मा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लामिछानेमाथि छानबिनको माग गरेको थियो । त्यतिबेला उनले महान्यायाधिवक्ता कार्यालयबाट कतै पनि उजुरी र अभियोजन नभएको पत्र लिएका थिए । तर, लामिछानेविरुद्ध पोखराका सहारा सहकारीपीडितले उजुरी दर्ता गराएका छन् । त्यसलाई लामिछानेले पूरक उजुरीमा कुनै प्रमाण नभएको जवाफ दिएका छन् । उक्त पत्रलाई पनि अधिवक्ता भट्टराईले अवैध घोषित गरी बदर गरिदिन आदेश माग गरेका छन् ।