४ आश्विन २०८१, शुक्रबार 1726878084
Banner

नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनु उपयुक्त हुन्छ: रघुजी पन्त

काठमाडौं-नेकपा एमाले सांसद रघुजी पन्तले संसदमा बहुमत गुमाइसकेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिकताको आधारमा पनि राजीनामा दिन उपयुक्त हुने बताउनु भएको छ।

आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद पन्तले यस्तो बताउनु भएको हो ।

सांसद पन्तले संविधानले उहाँलाई विश्वासको मत दिने अधिकार दिए पनि बहुमत गुमाएकाले प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताउनु भयो ।

‘लोकतन्त्रको शौन्दर्य त्यसको एउटा नैतिक पक्ष हुन्छ। एउटा संवैधानिक पक्ष पनि हुन्छ। तर नैतिक कुराहरू संविधानमा लेखिएको हुँदैन। अहिलेको नैतिक प्रश्न के हो भने प्रधानमन्त्रीले राजीनामा दिनुहोस्,’ उहाँले भन्नुभयो, ‘यद्यपि संविधानले उहाँलाई विश्वासको मत लिने अधिकार दिएको छ। विश्वासको मत लिने समय पनि दिएको छ। तर नैतिक पक्ष त्यो होइन। अत्याधिक रुपमा उहाँले बहुमत गुमाईसकेपछि राजीनामा गर्नु उपयुक्त हुन्छ। बहुमत नभएकाले उहाँको काम राजीनामा दिने मात्रै हो।’

प्रतिनिधि सभाका सांसदहरूले प्रधानमन्त्री प्रचण्डलाई तत्काल राजीनामा दिन आग्रह गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले बहुमत गुमिसकेकाले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन आग्रह गर्नुभएको हो।