३ आश्विन २०८१, बिहिबार 1726785074
अर्थ

ग्लोबल आइएमई बैंक र नास-आईटीबीच दिगो साझेदारीसम्बन्धी सम्झौता

काठमाडौं-ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास-आईटी) बीच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। 

सम्झौतामा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास-आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख बजार अधिकृत दिलिप पोखरेल र नास-आईटीको तर्फबाट संस्थाका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गर्नुभएको हो।

सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१-८२ को बजेटमा आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षका रूपमा मनाउने गरी यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ।

राज्यको प्राथमिकतामा रहेको यो क्षेत्र अर्थतन्त्रको सम्बाहकका रूपमा रहेको र ग्लोबल आइएमई बैंक पनि सदैव राज्यप्रति उत्तदायी संस्थाका रूपमा रहेकाले यो सम्झौता अघि बढेको जानकारी गराउँदै ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले सूचना प्रविधिका क्षेत्रमा गरेको लगानी र प्रयोगका बारेमा बताउनु भयो। यो सम्झौता नेपालमा सूचना प्रविधिको विकास, विस्तार र व्यवसायीकरणमा कोसेढुङ्गा सावित हुने पोखरेलले बातउनु भयो।

७७ जिल्लाका ३५४ वटा शाखा कार्यालयबाट भौतिक रूपमा बैंकिङ्ग सुविधा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकले आफ्नो मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिजिटल यूनिभर्सजस्ता प्लाटफर्मले थप पहुँच विस्तार गरेको छ। बैंकमा प्रत्यक्ष रूपमा ४८ लाखभन्दा बढी ग्राहकले उत्कृष्ट बैंकिङ्ग सुविधा प्राप्त गर्नु बैंकले गरेको सूचना र प्रविधि क्षेत्रमा उचित लगानी, नविनतम् प्रविधिमा आधारित सेवा तथा ग्राहकको विवरण सुरक्षणमा बैंकले लिएको पहलको उपजका रूपमा समेत लिन सकिन्छ। दिगो साझेदारी सम्झौताअन्तर्गत ग्लोबल आइएमई बैंकले नास-आईटीसँग सम्बन्धित संस्था र आवद्ध कर्मचारीहरुका लागि सहज तथा सुलभ तवरले बैंकिङ्ग सेवा प्रदान गर्ने जनाएको छ। 

साथै एक आपसमा पारस्परिक सम्बन्ध तथा सीपमूलक कार्यक्रम आयोजना गरी दुवै संस्था तथा आवद्ध कर्मचारीको ज्ञान, सीप, अनुभव विकास हुने कार्यक्रम अगाडि बढाइने छ। ग्लोबल आइएमई बैंक नास-आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ। बैंक र नास-आईटीको आपसी सहकार्यमा नवाचार र अनुसन्धानलाई प्रवर्द्धन, स्टार्टअप र साना व्यवसायलाई समर्थन, शिक्षा र सीप विकासलाई प्रवर्द्धन, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्नेछ।