२ कार्तिक २०८१, शुक्रबार 1729261906
Banner

९ ठूला परियोजना बनाउन बोर्डले गर्यो २ खर्ब ७१ अर्ब लगानी स्वीकृत, अधिकांश जलविद्युत परियोजना

काठमाडौँ । लगानी बोर्डले गत आर्थिक वर्षमा झण्डै ३ खर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ । गत आर्थिक वर्षमा बोर्डले विभिन्न ९ वटा परियोजना बनाउन २ खर्ब ७१ अर्ब २६ करोड रुपैयाँको लगानी स्वीकृत गरेको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भट्टले २०८०/८१ को कार्यसम्पादन प्रतिवेदन पेश गर्दै यस्तो जानकारी गराएका हुन् । स्वीकृत भएका परियोजनामा अधिकाँश जलविद्युत छन् ।

२२ मेगाावटको रोल्वालिङ खोला जलविद्युत आयोजना बनाउन ७ अर्ब ९३ करोड, ६३ मेगावाटको छुजुङ खोला जलविद्युत आयोजना बनाउन ९ अर्ब ३० करोड, ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजनालाई ९ अर्ब ६८ करोड र ४४ मेगावाटको सानीभेरी आयोजना बनाउन ९ अर्ब ४६ करोड रुपैयाँ लगानी स्वीकृत भएको बोर्डले जनाएको छ ।

यस्तै ९ सय मेगावाटको माथिल्लो कर्णाली आयोजना बनाउन १ खर्ब ६२ अर्ब ४९ करोड, १ सय ६६ मेगावाटको सुपरतमोर आयोजना बनाउन ३४ अर्ब ५९ करोड, ४२ मेगावाटको अपर मोदी ए बनाउन १० अर्ब, २ सय ५० मेगावाटको कोहलपुर बाणगंगा सोलार परियोजनालाई २१ अर्ब १० करोड र ह्वासिन सिमेन्टको लगानी बढाउन ६ अर्ब ६३ करोड रुपैयाँ स्वीकृत गरेको बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसार २०८१ जेठ २२ मा अरुण तेस्रो जलविद्युत परियोजनाको हेडरेस टनेलको ‘ब्रेकथ्रु’ भएपछि उक्त परियोजनाको उत्पादनतर्फ ७५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । प्रसारण लाइनतर्फ ३८.२१ प्रतिशत निर्माण भएको छ । सो कार्यलाई जेनेरेसनतर्फको प्रगतिसँग तादात्म्यता हुनेगरी सहजीकरण भइरहेको बोर्डका सिइओअधिकृत भट्टले बताए । त्यसैगरी तल्लो अरुण जलविद्युत परियोजनाको जग्गा प्राप्तिको कार्य प्रारम्भ भएको छ । यस्तै माथिल्लो त्रिशूली–१ जलविद्युत परियोजनाको निर्माणको कार्य तीव्र गतिमा अगाडि बढेको छ ।

अपर मर्स्याङ्दी–२ जलविद्युत परियोजना, सौर्य ऊर्जा परियोजना ९२५० मेगावाट कोहलपुर र वाणगंगा र दमक क्लीन इन्डस्ट्रियल पार्कको सम्बन्धमा भने परियोजना विकास सम्झौताको मस्यौदा तयार गरी विकासकर्तासँग वार्ताको चरणमा छ । डाबर नेपालको क्षमता अभिवृद्धि र प्रडक्ट डाइभर्सिफिकेसन परियोजनाको लगानी सम्झौताको मस्यौदा तयार भई वार्ताको चरणमा रहेको छ ।

साथै, रासायनिक मल कारखानाको विस्तृत सम्भाव्यता अध्ययन गर्न डियाग इन्डस्ट्रिज जर्मनीसँग समझदारी भएकोमा उक्त कम्पनीबाट प्रारम्भिक अध्ययन प्रतिवेदन प्राप्त भैसकेको छ । यसका साथै वीरेठाँटी–मुक्तिनाथ केबलकार परियोजनाको विस्तृत परियोजना प्रतिवेदन मूल्यांकन भइरहेको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा सिफारिस गरिएको छ ।

पश्चिम सेती र सेती नदी–६ जलविद्युत परियोजनाको एमओयू बमोजिम विकासकर्ताले पश्चिम सेती जलविद्युत परियोजनाको मस्यौदा विस्तृत परियोजना प्रतिवेदन बोर्डको कार्यालयमा पेस गरेको छ । मस्यौदा प्रतिवेदनको प्राविधिक समीक्षा पुनरावलोकन गरी प्रतिवेदन लगानी बोर्ड समक्ष पेस गर्नका लागि विज्ञसहितको कार्यदल गठनको प्रक्रिया अगाडि बढेको छ ।

यसबाहेक तेस्रो नेपाल लगानी सम्मेलनको आयोजना समेत बोर्डले १ सय ५२ वटा आयोजनाको प्रस्तुत गरिएको थियो । लगानी बोर्डको कार्यक्षेत्र भित्र पर्ने १२ वटा परियोजनासहित कुल १९ वटा परियोजनाहरूमा आशयपत्र आह्वान गरिएको थियो । त्यस मध्ये दुईवटा परियोजनामा आशयपत्र प्राप्त भई मूल्याङ्कनको कार्य अगाडि बढेको बोर्डले जनाएको छ ।