३ आश्विन २०८१, बिहिबार 1726783641
अर्थ

कूटनीतिज्ञ थापालाई हेमबहादुर मल्ल सम्मान 

काठमाडौं । कुशल प्रशासक एवं व्यवस्थापक स्व. हेमबहादुर मल्लको स्मृतिमा स्थापित ‘हेमबहादुर मल्ल सम्मान–२०७९’ कूटनीतिज्ञ डा. भेषबहादुर थापालाई प्रदान गरिएको छ । नेपाल जनप्रशासन संघद्वारा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सो सम्मान प्रदान गरे । सो सम्मान दुई लाख राशिको रहेको छ । संघले र साल्ट ट्रेडिङ कर्पोरेसनको सौजन्यमा सो संस्थाका अध्यक्ष स्व. हेमबहादुर मल्लको स्मृतिमा उक्त सम्मान स्थापना गरेको हो ।

पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न पुर्‍याएको योगदान स्वरूप डा. थापालाई सो सम्मान प्रदान गरिएको संघका अध्यक्ष मधुरमण आचार्यले जानकारी दिए । 

सम्मानित व्यक्तित्व डा. थापाले राष्ट्रिय योजना आयोगको सदस्य सचिव, अर्थ तथा योजना मन्त्रालयको सचिव, नेपाल राष्ट्र बैंकको गभर्नर, नेपाल सरकारको अर्थसचिव हुँदै अर्थमन्त्री एवं परराष्ट्र मन्त्रीको गहन जिम्मेवारी सम्हालेका थिए । साथै, संयुक्त राज्य अमेरिका र भारतका लागि नेपाली राजदूत, नेपाल भारत प्रबुद्ध व्यक्ति समूहको नेपालतर्फको संयोजक  तथा श्रीलंका लागि संयुक्त राष्ट्र संघको आवासीय प्रतिनिधि र क्यानडास्थित अन्तर्राष्ट्रिय विकास अनुसन्धान केन्द्र (आईडीआरसी)को उपाध्यक्षका हैसियतमा कूटनीतिक सेवामार्फत अन्तर्राष्ट्रिय सम्बन्धलाई मजबुत बनाउन उनले उल्लेखनीय योगदान दिएका छन् । 

उक्त सम्मान छनोटका लागि पूर्वसचिव एवं पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको थियो । सो समितिमा संघका निवर्तमान अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्ट ट्रेडिङका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, सचिव विन्दु विष्ट र पूर्वसचिव शिशिरकुमार ढुंगाना सदस्य रहेका थिए । 

स्व. मल्ललले साल्ट ट्रेडिङको संस्थापक प्रमुख, कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज र प्रमुख सल्लाहकार पदमा रही सेवा गरेका थिए । प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापकबीच पारस्परिक सम्बन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक सरोकारसँग सम्बन्धित सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन र मूल्यांकनमा पृष्ठपोषण गर्ने उद्देश्यले २०४७ सालमा संघको स्थापना भएको थियो ।