३ आश्विन २०८१, बिहिबार 1726804351
विश्व

भारत सरकारको सहयोगमा धुलिखेल अस्पतालको वार्ड भवन उद्घाटन

काठमाडौं । भारत सरकारको सहयोगमा धुलिखेल अस्पतालको वार्ड भवन उद्घाटन गरिएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल परियोजना लागत नेरु ४.२६ करोड आर्थिक सहयोगमा निर्माण गरिएको वार्ड भवनको आज भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले उद्घाटन गर्नुभयो ।

उक्त कार्यक्रममा धुलिखेल नगरपालिकाका मेयर, राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, अस्पताल व्यवस्थापनका प्रतिनिधि तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस अस्पताललाई आवश्यक पर्ने अन्य सुविधासँगै वार्ड भवनको निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । यस परयोजनाको कार्यान्वयन धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोकमार्फत गरिएको थियो । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एउटा महत्वपूर्ण उदाहरण हो ।

कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिकाका मेयर, राजनीतिक प्रतिनिधि, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक तथा प्रशासनिक निर्देशकले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभयो ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये काभ्रेपलाञ्चोक जिल्लाका ७ वटा परियोजनासहित बागमती प्रदेशको विभिन्न क्षेत्रमा १०६ वटा परियोजनाहरु रहेका छन् । यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ ।

त्यसमध्ये काभ्रेपलाञ्चोक जिल्लालाई प्रदान गरिएको ८ वटा स्कुल बस र १६ वटा एम्बुलेन्ससहित बागमती प्रदेशलाई २३६ वटा एम्बुलेन्स र ९८ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ जसमा भारत सरकारले सन् २०२१ जनवरीमा यस अस्पतालका लागि एउटा एम्बुलेन्स ९एड्भान्स लाइफ सपोर्ट० उपहारस्वरुप प्रदान गरेको थियो । यस एम्बुलेन्सले स्वास्थोपचारमा पहिलो सेवा दिदै आकस्मिक स्वास्थ्य सेवाको लागि महत्वपूर्ण योगदान पुऱ्याइरहेको छ ।