४ आश्विन २०८१, शुक्रबार 1726880480
राजनीति

राम्रा कामको श्रेय लिएझैँ असफल कामको जिम्मेवारी पनि नेतृत्व तहले लिनुपर्छ : उपमहासचिव बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले देश र जनताका लागि अझै धेरै कामहरु गर्न बाँकी रहेको बताएका छन् । मंगलबार काठमाडौंमा स्व. प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसर पारेर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नागरिकका सबै अपेक्षा पूरा गर्न तत्काल नसके पनि जिम्मेवारी बोध गर्न बिर्सन नहुने बताए । उनले राम्रा कामको श्रेय लिएझैँ असफल कामको जिम्मेवारी पनि नेतृत्व तहले लिन सक्नुपर्ने बताए ।

उनले जनताका थुप्रै आवश्यकता, अपेक्षा र आकंक्षाहरु पूरा गर्न बाँकी रहेको भन्दै कतिपय अपेक्षा राजनीतिक नेतृत्वको सानो प्रयासले मात्रै सफल हुने किसिमका रहेको बताए । उनले राम्रा कुराको जिम्मेवारी लिने र अप्रिय कामको जिम्मेवारी संविधानलाई बोकाउने कुरा समस्याको समाधान नभएको बताए ।

उनले भने, ‘हामी सबै आवश्यकताको परिपूर्ति गर्न नसकौँला, तर हामीले यो कुराको बोध, महशुस गर्नैपर्छ । आज जति राम्रा काम भएका छन् । ति सबै राम्रा कामहरुको श्रेय मुख्य राजनीतिक पार्टीहरुलाई, राजनीतिक पार्टीका अगुवाहरुलाई नै जान्छ । यो कुराहरुमा पनि हामीले कन्जुस्याँई गर्नु हुँदैन ।

यो कुरामा कुनै आग्रह राख्न जरुरी छैन । राम्रा कामहरुको श्रेय राम्रो काम गर्नेहरुलाई जान्छ नै । तर हामीले यो कुरा पनि स्वीकार गरौँ, धेरै कामहरु गर्न बाँकी छ । जनताका थुप्रै आवश्यकता, अपेक्षा र आकंक्षाहरु जति पूरा हुनुपर्ने हो भएको छैन । कति कुराहरु समयक्रममा पूरा हुनेछन् ।

कतिपय अहिले हाम्रो प्रयासले अलि थप पहल हुँदा समाधान हुन्छन् । हामीले यि कुराको जिम्मेवारी लिन तयार हुनुपर्छ । राम्रा कुराको जिम्मेवारी हामीले लिने, अप्रिय कुराहरुको भारी संविधानलाई बोकाइदिने, अपुरो भएका कुराहरु अरु कुनै पक्षलाई बोकाइदिने समस्याको समाधान होइन । हामीले राजनीतिक प्रक्रिया उन्नत बनाएका छौँ ।’

उपमहासचिव बस्नेतले व्यवस्था बदलिए पनि समग्र आर्थिक, सामाजिक अवस्था बदलिन नसकेको बताए ।