५ आश्विन २०८१, शनिबार 1726959126
Banner

सुनको मूल्य अहिले सम्मकै उच्च, कतिमा भयो कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । सुनको मूल्य आज नेपाली बजारमा तोलामा ८ सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड कामय भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यो मूल्य हालसम्मकै उच्च मूल्य हो । आइतबार प्रतितोला एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएर सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो । सो मूल्यलाई तोड्दै आज फेरि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले आज फेरि अर्को नयाँ रेकर्ड बनाएको हो ।

आइतबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य सोमबार र मंगलबार भने सामान्य घटेको थियो । तर, बुधबार भने आइतबारको मूल्यलाई ब्रेक गर्दै नयाँ मूल्य कायम भएको छ ।

आज बुधबार छापावाल सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने छापावाल सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी मूल्य पनि बढेको छ । प्रतितोला २५ रुपैयाँले बढेर १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेपछि यसको असर नेपाली बजारमा परेको हो । बुधबार विश्व बजारमा प्रति औंस २५ सय १७ डलर पुगेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताएका छन् ।

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ आउँदो सेप्टेम्बरमा ब्याजदर २५ देखि ५० विन्दुसम्म घट्ने लगानीकर्ताका आँकलनका कारण सुनमा लगानी बढाउँदा दैनिक नयाँ रेकर्ड कायम भएको महासंघका पूर्व अध्यक्ष शाक्यको भनाई छ ।