३ आश्विन २०८१, बिहिबार 1726784294
Banner

गाडी मेला ‘नाडा अटो शो’ सुरु, ५५ वटा ब्रान्ड सहभागि

काठमाडोँ । गाडीको कुम्भमेला अटो शो २०२४ सुरु भएको छ । अटो शो राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा सुरु भएको हो । अटो शोको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका छन्।

उद्घाटन सत्रमा बोल्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटोमोबाइल क्षेत्रलाई सरकारको पूर्ण संरक्षण रहने प्रतिबद्धता जनाए । अर्थमन्त्री पौडेलले अटोमोबाइल क्षेत्रले राजस्व र रोजगारीमा पुर्याएको योगदानको प्रशंसा गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अटोमोबाइल क्षेत्रलाई विलासी वस्तुको रूपमा परिभाषा नगर्न आग्रह गरे। उनले भने, ‘यो आवश्यक वस्तु हो। यस आधारमा नीति निर्माण गरिएमा राजस्व र रोजगारीमा थप योगदान पुग्छ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अर्थतन्त्रको सुस्त गतिका कारण अटोमोबाइल क्षेत्रमा पनि समस्या परेको बताए। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अटोमोबाइल क्षेत्रमा लगाइने करको दर धेरै भएको भन्दै त्यसलाई घटाउनुपर्ने माग गरे।

व्यवसायीहरूले अटोमोबाइल उद्योगलाई आवश्यक वस्तुको रूपमा परिभाषा गर्दै नीति निर्माण गर्न आग्रह गरेका छन् । नाडाका अध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्ने बताउँदै भने ‘हामी निकै पारदर्शी छौं र यो क्षेत्रमा भएका चुनौतीहरूको सामना गर्न सरकारसँग सहकार्य आवश्यक छ,’ ।

यो पटकको अटो शोमा विद्युतीय गाडीको बर्चश्व देखिएको छ । गत वर्षको अटो शोमा पनि विद्युतीय गाडी बढी देखिएको थियो ।

नेपाली बजारमा विद्युतीय कारको माग तथा बिक्री बढ्दै गएकाले यो वर्षको अटो शोमा प्यासेन्जर कार र लाइट कमर्सियल सेगमेन्टमा विद्युतीय ब्रान्डको बलियो उपस्थिती रहेको छ ।

अटो शोको यो १६औँ संस्करणमा २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १४ वटा ब्रान्डका लाइट कमर्सियल सवारी तथा २६ वटा कम्पोनेन्ट ब्रान्डहरू सहभागी हुने भएका छन् ।

त्यस्तै बीमा कम्पनी शिखर इन्स्योरेन्स लिमिटेडका साथै ७ वटा बैंकका स्टल रहने छन् । बैंकले समेत गाडी किन्न सस्तो ब्याजदर उपलब्ध गराउँदा इभी किन्नेको संख्या बढेको छ । अहिले गाडी किन्न बैंक तथा वित्तीय संस्थाहरुले ८० प्रतिशतसम्म ऋण दिएका छन्।

हिमालयन बैंक, नबिल बैंक ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक र महालक्ष्मी विकास बैंकको सहभागिता रहने भएको छ ।

यो वर्षको मेला अवधिभर कुल ७० हजार दर्शकले प्रत्यक्षरुपमा अवलोकन गर्ने आयोजकको दाबी छ । गाडी बिक्रेताहरुले गाडीको स्टल राम्रो बनाउन ५० लाखसम्म खर्च गरेका छन् । अटो शोमा २० अर्बको कारोबार हुने अनुमान गरिएको छ ।