६ आश्विन २०८१, आइतबार 1727039702
Banner

सडक अवरुद्ध भएपछि फलफूल आयात रोकियो

चौतारा (सिन्धुपाल्चोक) : सडक अवरुद्ध हुँदा तातोपानी नाकाहुँदै चीनबाट गरिँदै आएको फलफूल आयात रोकिएको छ । यसअघि दैनिक रु चार करोड बराबरको चिनियाँ फलफूल आयात भइरहेकामा हाल सडक अवरुद्ध हुँदा रोकिएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीका अनुसार बाढीपहिरोका कारण पटक–पटक कोदारी राजमार्ग अवरुद्ध हुँदा चीनबाट गरिँदै आएको फलफूल आयात रोकिएको हो ।

फलफूल बाटोमै कुहिने समस्या भएपछि व्यवसायीले गत असारदेखि नै आयात रोकेका हुन् । स्याउ, अनार, अङ्गुुरसँगै नासपाती, सुन्तला, अम्बा, ओखर, किबी, जुनारलगायत फलफूल चीनबाट आयात गर्ने गरिएको उहाँले बताउनुभयो । आयात रोकिएपछि राजस्वमा प्रत्यक्ष असर परेको प्रमुख केसी बताउनुहुन्छ । हाल उक्त नाकाबाट हुने निर्यात पनि शून्य नै रहेको छ । नेपालबाट निर्यात हुने हस्तकलाका सामान, खाद्यान्न, जडीबुटीजन्यलगायत सामान तातोपानी नाकाहुँदै व्यापारीले चीनतर्फ निर्यात गर्न पाएका छैनन् । असार अन्तिमसम्म दैनिक चिनियाँ फलफूल आयात हुन्थ्यो ।

बर्खामा चीनबाट आयातित फलफूल समयमा ढुवानी नहुने समस्याले गर्दा व्यवसायीले अघिल्ला वर्षमा बेहोर्नु परेको नोक्सानलाई ध्यानमा राख्दै गर्दै यसपटक आयात नै रोकेको व्यवसायी हाउडे दोर्जे लामा बताउनुहुन्छ । दसैँका लागि सामग्री बोकेर आएका करिब ८० चिनियाँ कन्टेनर न्यालम नजिक बाटोमा रोकिएका छन् । विभिन्न सामान बोकेका कन्टेनर १४ दिनदेखि बाटोमै छन् । यस्तै विभिन्न सामानसहितका एक सय तीन चिनियाँ कन्टेनर पनि बीच बाटोमै अड्किएका तातोपानी भन्सारले जनाएको छ ।

नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका सचिव आङ्दोर्जे शेर्पाका अनुसार खासा पुनःनिर्माण अन्तर्गत बीच भागमा सुरुङ निर्माण जारी रहेकाले सामान रोकिएको हो । पार्किङ भाडा मात्रै दैनिक एक हजार चिनियाँ युयान तिर्नुपरिरहेको उहाँले बताउनुभयो । चिनियाँ गाडी तातोपानी आउन जति ढिला भयो सामानको मूल्य त्यति नै बढी पर्ने शेर्पा बताउनुहुन्छ । नाकामा होटल, रेस्टुरेन्ट र पसल भने खुल्न थालेका नेपाल ट्रक कन्टेनर मजदुर सङ्घका अध्यक्ष अर्जुन सापकोटा बताउनुहुन्छ ।