५ आश्विन २०८१, शनिबार 1726938887
Banner

प्रतिनिधिसभा बैठक : स्थानीय तहमा भ्रष्टाचार मौलायो

काठमाडौँ : अशोक कुमार चौधरीले स्थानीय तहमा बोलपत्र आह्वानदेखि योजना कार्यान्वयनसम्म चर्को अनियमितता भएको पाइएकाले किन त्यस्तो भएको हो भन्ने बारेमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने बताउनुभयो । सांसद रोशन कार्कीले प्रतिनिधिसभामा सत्तापक्ष र विपक्षबीच जुहारी चलीरहेकाप्रति गुनासो गर्दै तत्काल बन्द गर्न सभामुखको ध्यानाकर्षण गर्नुभयो । उहाँले भन्नुभयो, “एकले अर्कोलाई गाली मात्रै गरेको छ ।

नेपाली जनताले के भन्लान् ? ठूला राजनीतिक दलले के गर्नुभयो ?” सांसद अमरबहादुर थापाले शिक्षा विधेयकमा परेको संशोधन राख्नु भएका सांसदले समय दिन नसक्दा प्रक्रिया अगाडि बढाउन समस्या भएको बताउनुभयो । उहाँले मुलुकको शिक्षा प्रणाली कस्तो बनाउने भन्ने बारेमा सबैको सार्थक सहयोगको आवश्यकता औंल्याउनुभयो । सांसद माधव सापकोटाले जनयुद्धलाई अपमान गर्ने छुट कोही कसैलाई नभएको बताउनुभयो । गरिमामय कुनै पनि आन्दोलनलाई अपमान गरिए त्यो आफूहरूलाई स्वीकार्य नभएको उल्लेख गर्दै उहाँले संविधान विरुद्ध नजान आग्रह गर्नुभयो ।

सांसद सापकोटाले संविधान ंसंशोधन अग्रगमनतर्फ हुनुपर्ने धारणा राख्नुभयो । सांसद निशा डाँगीले सडक दुर्घटना दैनिक बढोत्तरीका कारण जनधनको क्षति भएको भए पनि नियन्त्रणका लागि सरकारले उदासिनता देखाएको बताउनुभयो । सांसद विरेन्द्र महत्तो, सर्वेन्द्रनाथ शुक्ला, अमरेशकुमार सिंह, सञ्जयकुमार गौतम, रामहरि खतिवडा, पदम गिरी, ठाकुर गैरे, भगवती चौधरीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।