५ आश्विन २०८१, शनिबार 1726959665
Banner

कर्णालीमा माओवादीको प्रदेशस्तरीय परामर्श बैठक सुरु

सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय प्रशिक्षण तथा परामर्श बैठक सुरु भएको छ। माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको आयोजनामा सुरु भएको प्रशिक्षण कार्यक्रम शनिबारम्म चल्ने छ। प्रशिक्षणका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित केन्द्रीय नेताहरू सुर्खेत आइपुगेका छन्। वीरेन्द्रनगरस्थित सिद्धार्थ सहकारीको हलमा गरिएको प्रशिक्षणमा महासचिव देव गुरुङ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिव जनार्दन शर्मा, शक्ति बस्नेत, वर्षमान पुन, नेता गिरिराजमणि पोखरेल, स्थायी कमिटी सदस्य टेकबहादुर बस्नेत, सत्य पहाडी, कालीबहादुर मल्ल, केन्द्रीय सदस्य महेन्द्रबहादुर शाही लगायत उपस्थित छन्।

विशेषगरी प्रदेश पदाधिकारी र केन्द्रीय सदस्यहरू बैठकमा सहभागी छन्। प्रशिक्षण कार्यक्रमको सुरुमै बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध थालेको कदम अहिलेसम्मकै पहिलो रेकर्ड भएको बताए।सुशासन, सामाजिक न्याय र आर्थिक विकासको मूल सङ्कल्पसहित आफू नेतृत्वको सरकार १९ महिनासम्म चलेको बताउँदै उनले यी तिनवटै क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको दाबी गरे।

माओवादी सङ्ख्याले सानो हुँदाहुँदै पनि भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा यति ठुलो अभियान चलाएको देखेर विरोधीहरूमा छटपटी पैदा भएको‌ पनि उनले बताए । उनले भने– ‘यसबाट जनता उत्साहित हुँदै थिए तर दलाल पुँजीपति, माफिया र सामन्तवादका अवेशषहरुमा आतङ्क सिर्जना भयो । पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त पक्राउ परेपछि कांग्रेस र एमालेको एकथरी नेतृत्वमा छटपटी नै पैदा भयो । त्यसकै परिणामस्वरुप रातारात सहमति गरेर सरकार बनाइएको घाम जत्तिकै छर्लङ्ग छ।’

कांग्रेस–एमालेले नेतृत्व लिँदै गर्दा हारेर गएजस्तो र माओवादी सरकारबाट निस्कँदा जितेर निस्केजस्तो माहौल बन्न पुगेको टिप्पणी उनले गरे । यो पार्टी र आन्दोलनका लागि ठुलो पुँजी भएको समेत प्रचडको भनाई छ । ‘अब उनीहरू हामीलाई कमजोर बनाउने नाममा बलिदानपूर्ण सङ्घर्षमार्फत स्थापित गरेका एजेन्डासहितको संविधानमाथि प्रहार गर्न चाहन्छन्, हामीले अघि बढाएको भ्रष्टाचारविरुद्धको अभियानलाई निस्तेज पार्न चाहन्छन्’, नेता कार्यकर्तालाई निर्देशन दिँदै प्रचण्डले भने, ‘यी सबै षड्यन्त्रका विरुद्ध जनतालाई सचेत बनाउँदै अघि बढ्नुपर्ने छ, त्यसका लागि बलियो र एकताबद्ध पार्टीको आवश्यकता छ।

’अध्यक्ष प्रचण्डले सुशासनसँगै सामाजिक न्यायको क्षेत्रमा मिटरब्याजको समस्या समाधान गरिएको, हजारौँ नागरिकता विहीनले नागरिकता पाउने व्यवस्था मिलाइएको र देशबाहिर तथा देशभित्र रहेका लाखौं श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेर नयाँ आशाको जागृत गरिएको पनि स्पष्ट पारे । सुशासन र सामाजिक न्यायसँगै आर्थिक समृद्धिको एजेन्डा पनि स्थापित हुँदै गएको उल्लेख गर्दै उनले भने, ‘हामीले सरकारको नेतृत्व लिँदै गर्दा धेरैले हाम्रो अर्थतन्त्रलाई श्रीलङ्कासँग तुलना गरिरहेकाका थिए तर अर्थतन्त्र पुनरुत्थानका लागि लिइएका नीतिगत पहलका कारण अर्थतन्त्रमा देखिएका सङ्कट क्रमशः समाधान हुँदै अर्थतन्त्रले पुरानै लय समात्न थालेको छ ।’