३ आश्विन २०८१, बिहिबार 1726783787
Banner

कास्य पदक विजेता पलेशालाई राष्ट्रपतिको बधाई

काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलले पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई बधाई दिनुभएको छ । उहाँले समाजिक सञ्जालमार्फत ऐतिहासिक कास्य पदक विजेता गोवर्धनलाई बधाई दिनुभएको हो । उहाँले भन्नुभएको छ, “फरक क्षमता भएर नेपाली खेलकुदमा आफूलाई अब्बल दर्शाउनुभएकी पलेशाले जित्नुभएको कास्य पदक नेपाल र नेपालीको लागि गर्वको विषय हो ।

” पेरिस पारालिम्पिक-२०२४ अन्तर्गत गए राति सम्पन्न के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कांस्य पदक जित्नुभएको हो । पारालिम्पिकमा पदक जित्ने उहाँ पहिलो नेपाली खेलाडी बन्नुभएको छ । हिजै भएको पहिलो चरणको खेलमा उहाले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाउनुभएको थियो ।

क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ १०-८ ले पराजित हुनुभयो । दोस्रो चरणमा पराजित भएको कारण उहाँले रिपाचेजमा मौका पाउँदै फ्रान्सकी सेफी कार्भजनलेलाई २-१ ले पराजित गर्नुभएको थियो । गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उहाँले स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट हुनुभएको थियो । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुनुहुन्छ ।