४ आश्विन २०८१, शुक्रबार 1726827632
Banner

सांसद श्रेष्ठको पहलमा प्रसूति गृहलाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौँ : थापाथलीस्थित परोपकार तथा प्रसूति गृह तथा स्त्री रोग अस्पताललाई एक थान एम्बुलेन्स र एनेस्थेसिया मेसिन (शल्याक्रिया वा अन्य उपचारमा दुखाइलाई रोक्न प्रयोग गरिने औषधि) प्रदान गरिएको छ ।

बागमती प्रदेशसभा सांसद दीपेन्द्र श्रेष्ठको पहलमा प्रदेश सरकारमार्फत अनुदान रकमबाट खरिद गरिएको एम्बुलेन्स र एनेस्थेसिया मेसिन हस्तान्तरण गरिएको हो । आज अस्पतालमा आयोजित हस्तान्तरण कार्यक्रममा सांसद श्रेष्ठले अस्पतालमा आवश्यक उपकरण आगामी दिनमा पनि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आगामी दिनमा कुपन्डोलमा रहेको प्रसूति गृहको शाखा र अस्पतालको मुख्य भवनसम्म जोडिने झोलुङ्गे पुलको निर्माण गर्न प्रतिबद्धता छौँ । यसले सेवाग्राहीलाई सहज बनाउने छ ।” प्रदेश सरकारले संघीय अस्पतालमा सहयोग गर्नु हुँदैन भन्ने मान्यतालाई चुनौती दिँदै सांसद श्रेष्ठले उपकरण अभाव भएका प्रसूति गृह जस्ता अस्पतालमा स्वास्थ्य उपकरण हस्तान्तरण गरेका ह्न। कोरोनाकालमा कार्यविधि परिमार्जन गरेर स्वास्थ्य क्षेत्रमा सहयोग गर्न प्रस्ताव राखेको स्मरण गराउँदै उहाँले प्रसूति गृहले पाएको स्वास्थ्य सामग्री त्यसैको देन भएको बताउनुभयो।

कोरोनाकालमा सिभिल अस्पताल झन्डै दुई करोडको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका सांसद दिपेन्द्रले प्रसूतिलाई पनि आवश्यक एम्बुलेन्स र उपकरण हस्तान्तरण गरेका हुन्। प्रसूति गृहलाई आवश्यक पर्ने अन्य पूर्वाधारमा पनि सहयोग गर्न तयार रहेको उहाँको प्रतिबद्धता छ। काठमाडौँ महानगरपालिका–११ का वडाध्यक्ष हरिलाल तण्डुकारले वडाले स्वास्थ्य क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले सुत्केरीका लागि ‘सुत्केरी पार्क’ बनाउने प्रतिबद्धता जनाउनुभयो ।

अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले आगामी दिनमा पनि यस्ता किसिमका सहयोग निरन्तर पाउनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सङ्घीय र प्रादेशिक सरकारबाट सहयोग पाइरहेका छौँ ।

आगामी दिनमा पनि यसले निरन्तरता पाउने अपेक्षा छ । अस्पतालमा आवश्यकता अनुसार बजेट नभएको अवस्थामा सहयोग प्रदान भएको छ, आभारी छौँ ।” डा अधिकारीले एनेस्थेसिया मेसिन सञ्चालनमा आइसकेको बताउँदै आजदेखि एम्बुलेन्स पनि सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।