८ मंसिर २०८१, शनिबार 1732386073
अर्थ

गोल्यान ग्रुपले भारतको प्रोजेल इनर्जीको साझेदारीमा सोलारबाट ५०० मेगावाट बिजुली उत्पादन गर्ने

काठमाडौं । उत्पादन तथा प्रशोधन, वित्तीय सेवा, हस्पिटालिटी तथा निर्माण र जलविद्युतलगायत नविकरणीय ऊर्जामा गोल्यान ग्रुपले लगानी विस्तार गरिरहेको छ ।

यसबीचमा गोल्यान ग्रुपले भारतीय कम्पनीसँग साझेदारीमा नेपालमा सोलार प्लान्टबाट ५ सय मेगावाट बिजुली उत्पादन गर्ने भएको छ । गोल्यान ग्रुपले भारतको अहमदाबादस्थित प्रोजेल ग्रीन इनर्जीसँग संयुक्त लगानीमा सोलार प्रविधिबाट ५ सय मेगावाट बिजुली उत्पादन गर्न लागेको हो । संयुक्त लगानीमा सौर्य परियोजना बनाउन दुबै कम्पनीले संयुक्त उद्यम (जेभी) सम्झौतामा हस्ताक्षर गरेका छन् । यसअघि ग्रुपले भारतकै रिनेर्गाे डेभलपर्सको साझेदारीमा नेपालगञ्जमा २० मेगावाटको सोलार प्लान्ट स्थापना गरी बिजुली उत्पादन गरिरहेको छ ।

नवीकरणीय ऊर्जा परियोजना अगाडि बढाउने प्रतिबद्धतामा महत्वपूर्ण कोसेढुङ्गा मान्दै काठमाडौंस्थित गोल्यान ग्रुपको मुख्यालयमा दुबै कम्पनीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा प्रोजेल ग्रीन इनर्जीका निर्देशक शोभित राई र गोल्यान पावरका निर्देशक अक्षय गोल्यानले हस्ताक्षर गरेका हुन् ।

नेपालको स्वच्छ र हरियाली भविष्यका लागि अर्थपूर्ण रूपमा योगदान गर्ने साझा दृष्टिकोणलाई सम्झौताले जोड दिइएको बताइएको छ । संयुक्त उद्यम प्रोजेल ग्रीन इनर्जी नेपालले आगामी १८ महिनामा नेपालका विभिन्न स्थानमा ५ सय मेगावाटभन्दा बढी सौर्य ऊर्जा परियोजनाहरू स्थापना गर्ने लक्ष्य राखेको छ । जेभी परियोजनामा प्रोजेल ग्रीन इनर्जीको ६० प्रतिशत र बाँकी ४० प्रतिशत गोल्यान ग्रुपको स्वामित्व हुने भएको छ ।

प्रोजेलका निर्देशक राईले भने ‘संयुक्त उद्यमले नेपाल र भारतबीचको शक्तिशाली लगानी गठबन्धनलाई प्रतिनिधित्व गर्नेछ । जसले हाम्रो विशेषज्ञतालाई विश्वव्यापी डिकार्बोनाइजेशन आन्दोलनको नेतृत्व गर्न एकजुट गर्दैछ । हामी नेपालमा स्वच्छ ऊर्जा र दिगोपनका लागि नयाँ मापदण्डहरू सेट गर्दैछौं ।’

सो अवसरमा गोल्यान पावरका निर्देशक अक्षय गोल्यानले भने ‘नेपाल नवीकरणीय ऊर्जा क्षेत्रमा द्रुत गतिमा बढिरहेको छ । यो साझेदारीले दुवै संस्थाका लागि नयाँ बाटो खोल्ने कुरामा म विश्वस्त छु । हाम्रो साझा दृष्टिकोण र अगाडी बढ्दो सम्भावनाका माध्यमबाट एकजुट भएका छौं ।’ संयुक्त उद्यमले सौर्य रूफटप र ग्राउन्ड माउन्टेड फोटोभोल्टिक (पीभी) सौर्य प्लान्टहरू विकास गर्ने भएको छ ।

यी आयोजनाबाट उत्पादित ऊर्जा नेपाल विद्युत प्राधिकरण र विभिन्न व्यावसायिक तथा औद्योगिक उपभोक्तालाई बिक्री गरिने भएको छ । विद्युत प्राधिकरणले सोलारको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) को आधार दर प्रति युनिट ५.९४ रुपैयाँ तोकेको छ । पिपिए गर्ने कम्पनीले यो भन्दा कम दर प्रस्ताव गर्नुपर्ने हुन्छ । यसले गर्दा आयोजना आर्थिक रुपमा संभाव्य नहुन पनि सक्छ ।

सम्झौताअनुसार प्रोजेल ग्रीन इनर्जीले नवीकरणीय ऊर्जा क्षेत्रमा आफ्नो व्यापक विशेषज्ञता प्रयोग गर्दै इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन (इपिसी) मोडलमा विकास कम्पनीको नेतृत्व गर्ने भएको छ ।

ग्रुपले बाँके रैनापुरमा २० मेगावाट क्षमतायुक्त सोलार प्रविधिबाट ऊर्जा उत्पादन गरिरहेको छ । १० १० मेगावाट गरी दुई चरणमा निर्माण भएको सोलार परियोजनामा ग्रुपले २ अर्ब २४ करोड ८६ लाख रुपैयाँ लगानी गरेको जनाएको छ ।

सोलारबाट बिजुली उत्पादन गर्न प्रति मेगावाट लागत ११ करोड २४ लाख ३० हजार रुपैयाँ परेको छ । प्योर इनर्जी लिमिटेडमार्फत परियोजना निर्माण भएको हो । सोलार परियोजनामा ६७ प्रतिशत ऋण र बाँकी ३३ प्रतिशत संस्थापकहरूको स्वपुँजी लगानी रहने छ । गोल्यान ग्रुपले नेपालमा रिलायन्स स्पिनिङ मिल्स, ह्यात पेलेस होटल, जनता एग्रो फरेष्ट्री, माटो ब्रान्डको पानी र खाद्यन्न, एनएमबी बैंक, एनआइसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एसियन लाइफ इन्स्योरेन्स कम्पनीमा लगानी रहेको छ । पछिल्लो समयमा ऊर्जामा आक्रमक रुपमा लगानी विस्तार गरेको ग्रुपले अहिले ३ सय ६ मेगावाटको अपर मुगु कर्णाली, ४६ मेगावाटको अपर बलेफी, १ सय ३५ नमलान खोला र ५४ मेगावाटको लोअर अप्सुवा खोला आयोजना बनाउने तयारी ग्रुपको छ । यस्तै ग्रुपको शिवम् प्लास्टिक इन्डष्ट्रिज, ट्राइकोट इन्डष्ट्रिजका साथै वेस्टार प्रोपर्टीज अपार्टमेन्ट निर्माण गरिसकेको छ ।