३ आश्विन २०८१, बिहिबार 1726784563
पर्यटन

जुङ्गे महादेव मन्दिर स्तरोन्नति कार्य सुस्त

राँझा (बाँके)।नेपालगञ्जमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न जुङ्गे महादेव मन्दिरलाई स्तरोन्नति गरी आकर्षक बनाउन थालिएको छ । हाल बागेश्वरी मन्दिर परिसरमा अवस्थित तलाउको बीच भागमा रहेको मन्दिर र मन्दिरसम्म पुग्ने पुल स्तरोन्नति भइरहेको छ ।

आगामी शिवरात्रीमा दर्शनार्थीले पूजा गर्न पाउने गरी काम भइरहेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट बताउनुहुन्छ । “नेपालकै ऐतिहासिक मन्दिरको रूपमा रहेको जुङ्गे महादेव मन्दिरलाई धार्मिक पर्यटक आकर्षित गर्ने गरी स्तरोन्नति तथा पुनःनिर्माण भइरहेको छ । जुङ्गे महादेव मन्दिर पुनःनिर्माणसँगै बागेश्वरी मन्दिर परिसर पनि थप आकर्षक बन्ने छ”, उहाँले भन्नुभयो ।

मन्दिर र पुल निर्माणका लागि विसं २०७९ चैत २ गते रु एक करोड आठ लाख ७३ हजार आठ सय ९९ मा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले २०८० चैत २ गतेभित्र सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने भए पनि अहिलेसम्म आधा काम पनि भएको छैन । तोकिएको समयभित्र काम सम्पन्न नभएपछि आगामी पुस १ गतेसम्म म्याद थपिएको छ ।

उपमहानगरपालिकाका इञ्जिनियर भूपेन्द्र बोहराले पुलको ढलान र पूर्वतर्फको घाट निर्माण कार्य सम्पन्न भएको र तलाउको बीचमा रहेको मन्दिरको पिलर तथा छत ढलान, फ्लोरिङ, रङ्गरोगन र अन्य काम बाँकी रहेका बताउनुभयो ।

जीर्ण अवस्थामा रहेको मन्दिर स्तरोन्नति गरिने भएपछि त्यहाँ राखिएको ऐतिहासिक जुङ्गे महादेवको मूर्तिलाई बागेश्वरी मन्दिर परिसरकै कुनामा थन्क्याइएको छ । समयमा काम सम्पन्न नहुँदा भक्तजनलाई समस्या भइरहेको नेपालगञ्जका अगुवा ऋषिराज देवकोटाको गुनासो छ ।

नेपालगञ्जका नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले पुनःनिर्माणको काममा ढिलाइ हुँदा बागेश्वरी मन्दिर क्षेत्रमा आउने धार्मिक पर्यटकलाई असुविधा भएकाले अब समय सीमाभित्रै निर्माण सम्पन्न गराउन सम्वद्ध निकायले ध्यान दिनुपर्ने बताउनुभयो । “यो बागेश्वरी मन्दिरको आकर्षण पनि हो तर समयमा निर्माण नहुँदा समस्या भइरहेको छ । त्यसैले उपमहानगरले अब तोकिएकै समयमा काम हुने गरी आवश्यक समन्वय गर्न आवश्यक छ”, उहाँले आग्रह गर्नुभयो ।