३ आश्विन २०८१, बिहिबार 1726786732
Banner

दक्ष जनशक्तिको अभावमा बजेट कार्यान्वयनमा समस्या : वडाध्यक्ष दलबहादुर कार्कीले

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्कीले दक्ष जनशक्तिको अभावमा बजेट कार्यान्वयनमा समस्या भएको बताएका छन् ।

वडाले बनाएर दिएको योजनाअनुसार महानगरले बजेट वडालाई दिए पनि दक्ष जनशक्तिको अभाव कार्यान्वयनमा समस्या भएको उनको भनाइ छ । ‘वडाले योजना बनाएर दिएपछिको सोहीअनुसार महानगरले बजेट दिएको छ,’ उनले भने, ‘तर, जनशक्तिको अभावमा भने बजेट कार्यान्वयन गर्न समस्या भएको छ ।’ उनका अनुसार वडामा पर्याप्त दक्ष जनशक्ति छैन ।

‘महानगरले २५ अर्बको बजेट बनाउँछ । सानो क्षेत्र, धेरै आम्दानी हुने महानगर हो,’ उनले भने, ‘तर, सडकका लागि सडक विशेषज्ञ हुनुपर्‍यो, ढलका लागि ढल विशेषज्ञ हुनुपर्‍यो । विजुलीका लागि विजुली विशेषज्ञ हुनुपर्‍यो । आर्किटेक्चर हुनुपर्‍यो । महानगर इन्जिनियर मात्र भएको ठाउँ हो । दक्ष जनशक्ति चाहिने मैले मेयरलाई पनि भनेको छु । दूरगामी विकासका लागि दक्ष जनशक्ति आवश्यक छ ।’

सोहीअनुसार मेयर बालेन शाहले ३५ जना विभिन्न क्षेत्रका विशेषज्ञ मागेको उनले बताए । महानगरले आवश्यक जनशक्ति दिएमा वडाले धेरै काम गर्ने वडाध्यक्ष कार्कीले बताए । अहिले काम गर्ने नेपाली नपाइने र भारतबाट आउने कामदारलाई खटाउने विशेषज्ञ नेपाली चाहिने उनले बताए । ‘अहिले काम गर्ने नेपाली कामदार पाइँदैन । सडक पिच गर्ने भारतबाट आउँछन् । उनीहरुलाई काम खटाउने विशेषज्ञ नेपाली चाहिन्छ,’ वडाध्यक्ष कार्की भन्छन् ।

सबै प्रशासनिक कार्य वडाबाट प्रारम्भ हुने भएकाले चुस्त सेवा प्रवाहलाई प्राथमिकता दिएको उनले बताए । अनलाइन सेवा प्रवाहमा गइसकेकाले सेवाग्राहीको गुनासो सम्बोधनका लागि पनि दक्ष जनशक्ति आवश्यक परेको वडाध्यक्ष कार्कीले बताए ।

यस विषयमा महानगरको ध्यानाकर्षण गराउँदा प्रशासनिक कर्मचारी वडामा पठाइदिएर काम गर्न सहज भएको उनको भनाइ छ । तर, अझै पनि प्राविधिक दक्ष जनशक्तिको भने अभाव रहेको उनले बताए । सर्भरमात्र अनलाइनबाट सेवा प्रवाह गरिएकाले कहिलेकाहीँ सर्भर डाउन हुँदा काम नगरिदिएर दुःख दिएको नागरिकले बुझ्ने गरेको भन्दै उनले वडाले नियतवस सेवा प्रवाहमा ढिलासुस्ती नगर्ने बताए ।