३ आश्विन २०८१, बिहिबार 1726784723
Banner

रूसी सुरक्षा प्रमुख शोइगु र उत्तर कोरियाली नेता किमबिच भेटवार्ता

मस्को ।  उत्तर कोरियाली नेता किम जोङ उन र रूसको सुरक्षा परिषद्का प्रमुख सर्गेई शोइगुबीच शुक्रबार भेटवार्ता भएको छ । क्रेमलिन र प्योङयाङबिच केही हप्ता पहिलले रक्षा सम्झौता भएको थियो । मस्कोले युक्रेनमा ३० महिनाभन्दा बढी समयदेखि जारी रहेको आक्रमणलाई निरन्तरता दिन गोलाबारुदको खोजी गरिरहेको र पश्चिमा मुलुकहरूले प्योङयाङले मस्कोमा हतियार पठाएको आरोप लगाइरहेका बेला रूसको सुरक्षा परिषद्का प्रमुख शोइगुको उत्तर कोरिया भ्रमण भएको हो । राष्ट्रपति भ्लादिमिर पुटिनले गत जुनमा उत्तर कोरियाको भ्रमण गरेका थिए र उत्तर कोरियासँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए ।

  रूसी सुरक्षा परिषद्ले आफ्नो वेबसाइटमा भनेको छ, “राष्ट्रपति भ्लादिमिर पुटिनको राजकीय भ्रमणका क्रममा दुई देशका नेताबिच भएको सम्झौताअनुरुप प्योङयाङमा एक विशिष्ट विश्वासिलो र मैत्रीपूर्ण वातावरणमा भेटवार्ता भएको छ ।” सोइगु र किमको भेटले रक्षा सम्झौताको कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताइएको छ । शोइगुले मे महिनासम्म रूसको रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए । पश्चिमा मुलुक र दक्षिण कोरियाले रूस उत्तर कोरिया सम्झौताको निन्दा गरेका छन् भने युक्रेनले युद्धभूमिमा उत्तर कोरियाली वम फेला परेको बताएको छ । रूस र उत्तर कोरिया विश्वमा सबैभन्दा बढी प्रतिबन्धलगाइएका मुलुक हुन् । तत्कालिन सोभियत सङ्घले उत्तर कोरियाको स्थापना गर्न सघाएपछि नै मस्कोको प्योङयाङसँग ऐतिहासिक सुमधुर सम्बन्ध छ । सन् २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेदेखि मस्कोले सम्बन्धलाई थप गहिरो बनाएको छ।