२ जेष्ठ २०८३, शनिबार 1778912579
Banner

कर्णालीमा रणनीतिक अस्पतालहरू सञ्चालन गर्ने मन्त्री भण्डारीको घोषणा

सुर्खेत। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेशका विभिन्न स्थानहरूमा प्रादेशिक रणनीतिक अस्पतालहरू सञ्चालन गरिने बताएका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको आयोजनामा गरिएको स्वास्थ्य चौकीहरूको न्यूनतम सेवा मापदण्ड सम्बन्धी समीक्षा कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो घोषणा गरेका हुन् । उनले अस्पतालको सेवा प्रवाह र सेवाग्राहीको अवस्थालाई अध्ययन गरी रणनीतिक अस्पताल तोकिने बताए। त्यसका लागि आन्तरिक रूपमा तयारी समेत भइरहेको बताए ।

समीक्षा कार्यक्रमबाट सरकारलाई सुझाव प्राप्त हुने अपेक्षा गरे । त्यसका आधारमा आफ्ना तर्फबाट आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता पनि उनले जनाए। विभिन्न तालिमबाट लिइएको ज्ञानलाई सेवा भावको मनसायबाट सेवा प्रवाह गर्न सुझाव दिए । सेवा प्रदान गर्दा नागरिक सन्तुष्टिको मापन गर्नुपर्ने बताए। औषधिजन्य फोहोर मैला व्यवस्थापन, म्याद सकिएका औषधिको व्यवस्थापन, जनचेतनामूलक कार्यक्रम लगायतका विषयलाई ध्यान दिन आग्रह गर्दै कुपोषण जस्ता समस्या समाधानका लागि स्वयंसेविका लगायतका स्थानीय जनशक्ति परिचालन गर्नुपर्ने बताए ।