३ आश्विन २०८१, बिहिबार 1726784879
पालिका

काठमाडौँ–३१ मा पूर्वाधार निर्माणको काम लगभग सकिएको छ : वडाध्यक्ष सरोज ढकाल

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकालले आफ्नो वडाभित्र पूर्वाधार निर्माणको काम लगभग सकिएको जानकारी दिएका छन् ।

पूर्ववर्ती वडाध्यक्षको पालामा रहेका अधुरा र नयाँ गरी सबै पूर्वाधारको काम सकेको उनको भनाइ छ । ‘त्यत्ति बेलाका वडाध्यक्षले काम गर्नु भएको थियो । उहाँको पालाको अधुरा पूर्वाधारको काम गरेका छौँ । नयाँ कामहरुमा अहिले फल्चा बनायौँ, बाटो बनायौँ, पूर्वाधारको काम करिब करिब सकेका छौँ,’ उनले भने ‘पार्क बनाएका छौँ । खेलकुदका लागि सामग्री बनाएका छौँ । विकासका पूर्वाधारका काम सकेका छौँ ।’

अहिले वडालाई सौन्दर्यता प्रदान गर्नेगरी काम भइरहेको उनले बताए । धार्मिक तथा सांस्कृति सम्पदाको जीर्णोद्वार, रंगरोगन, संरक्षण तथा प्रवद्र्धन गरेको वडाध्यक्ष ढकालले बताए । आफूलाई काम गर्न महानगर र मेयर बालेन शाहबाट सहयोग भएको बताएका उनले काम गर्दा सबैले सहयोग गर्ने बताए । ‘मेयरसापले सहयोग नै गर्नुभएको छ । काम परेको बेला मेयरसाप भन्ने गरेको छु । महिनामा एक पटक बोर्ड बैठक हुन्छ । त्यहाँ आफ्नो कुरा राख्ने,’ उनले भने, ‘एक वचनमै मेयरसापले एम्बुलेन्स उपलब्ध गराइदिनुभयो ।’

आफ्नो वडामा २२ हजार घर रहेका र स्थायी तथा अस्थायी गरी ३ लाख मानिस बसोबार रहेको भन्दै उनले महानगरकै जनसंख्या र भूगोलको हिसाबले ३१ नम्बर वडा ठूलो वडाको रुपमा रहेको बताए ।

जसकारण सेवाग्राहीको भीड लाग्ने गरेको र यसलाई व्यवस्थान गर्दै आएको बताए । पुस मसान्तसम्म सम्पत्ति कर, व्यवसायी कर करबहाल करमा बुझाएमा १० प्रतिशत छुट दिएकाले पनि सेवाग्राहीको भीड लागेको उनको भनाइ छ । साथै राष्ट्रिय परिचयपत्र बनाउनेको पनि चाप रहेको उनले बताए ।