३ आश्विन २०८१, बिहिबार 1726782532
Banner

शिक्षाको गुणस्तर बढाउन अभिभावक सुधार्नुपर्छ : मुख्यमन्त्री लामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले शिक्षाको गुणस्तर बढाउन अभिभावकलाई सुधार गर्नुपर्ने बताएका छन् । उनले शिक्षा क्षेत्रको गुणस्तर र नतिजामुखी बनाउन अभिभावकहरुलाई जिम्मेवार बनाउनुपर्ने बताए । राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले अभिभावकको निगरानीमा बालबालिकाहरु राख्न सकेमा शैक्षिक गुणस्तर सुधारमा उपलब्धिमूलक नतिजा हासिल हुने बताए । बालबालिकाको पहिलो शैक्षिक संस्था घर भएकाले पारिवारिक वातावरण, अभिभावकको हेरचाह, निगरानी तथा व्यवहारले शैक्षिक गुणस्तर कायम गर्न सहयोग मिल्ने उनको भनाई छ । शिक्षक अभिभावक र विद्यार्थीको समन्वयमा मात्र शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्न सकिने उनले बताए । मुख्यमन्त्री लामाले असल नागरिक निर्माणका लागि शिक्षाको महत्त्वपूर्ण भूमिका रहने बताए । सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सरकार गम्भीर रहेको उनको भनाई छ । शिक्षालाई अनुसन्धानात्मक र व्यवहारिक बनाउन जरुरी रहेको उनको भनाई छ । सोही अनुसार बागमती प्रदेश सरकारले काम गरिरहेको मुख्यमन्त्री लामाले बताए ।

उनका अनुसार शैक्षिक पाठ्यक्रम परिमार्जन गर्दै विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान अभिवृद्धिमा अघि बढ्नुपर्ने हुन्छ । उक्त कार्यका लागि तीन तहका सरकार बिचको दरिलो समन्वय र संयन्त्र विकास गर्नुपर्ने मुख्यमन्त्री लामाले बताए । पठनपाठनको प्रवृत्ति सुधार गर्दै शिक्षाको गुणस्तर कायममा सरकारले भूमिका खेल्नुपर्ने उनको भनाई छ । असान्दर्भिक ऐन नियम र कानुनलाई समयानुकूल परिमार्जन गरेर शिक्षाको गुणस्तर कायम गर्न र सामुदायिक विद्यालयको अवस्था सुधार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए । कार्यक्रममा सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले सामुदायिक विद्यालयको अवस्था सुधारमा प्रदेश सरकारले लगानी बढाउने बताइन् । उनले सरकारको पहलमा मात्र शिक्षा क्षेत्र सुधार सम्भव नरहेकाले सबै सरोकारवाला निकाय गम्भीर रहनुपर्ने बताइन् । सामुदायिक विद्यालयको नतिजा सुधार गर्न शिक्षक तथा अभिभावक र विद्यालय व्यवस्थापन समितिलाई ठोस योजना निर्माण गर्न निर्देशन दिइन् । युवा, विद्यार्थी पलायन रोक्न र दक्ष जनशक्ति उत्पादनमा शिक्षा क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने उनको भनाई छ ।

१० विद्यालय पुरस्कृत

शिक्षा दिवसको अवसरमा प्रदेशका १० विद्यालयलाई पुरस्कृत गरिएको छ । दिवसको अवसरमा ५ सामुदायिक र ५ संस्थागत विद्यालयलाई नगदसहित पुरस्कृत गरिएको हो ।शिक्षा विकास निर्देशनालय बागमती प्रदेशले छनौट गरेका सामुदायिक तर्फका मेघा माध्यमिक विद्यालय तेखापुखु भक्तपुर, बलम्बु माध्यमिक विद्यालय चन्दागिरि नगरपालिका काठमाडौँ, पृथ्वी माध्यमिक विद्यालय विदुर–४ नुवाकोट, तरुण माध्यमिक विद्यालय बालाजु काठमाडौँ र श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल काठमाडौँ उत्कृष्ट भएका थिए ।त्यस्तै संस्थागत तर्फका ह्विज किड्स इन्टरनेशनल स्कुल बालुवाटार काठमाडौँ, रिलायन्स इन्टरनेशनल एकेडेमी बुढानीलकण्ठ काठमाडौँ, गोकर्णेश्वर लाइट एकेडेमी गोकर्णेश्वर काठमाडौँ, शांकरी स्कुल छाउनी काठमाडौँ र माउन्ट ग्लोरी इङ्ग्लिस बोर्डिङ हाइस्कुल उत्कृष्ट भएका थिए ।

उत्कृष्ट सामुदायिक र संस्थागत विद्यालयहरूलाई क्रमशः १ लाख रुपैयाँ, ८० हजार, ७० हजार, ६० हजार र ५० हजार रुपैयाँ सहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा दिवसको अवसरमा आयोजित निबन्ध लेखन प्रतियोगिताको प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियो । जसमा स्कृति चौलागाई बाँसबारी माध्यमिक विद्यालय काठमाडौँ प्रथम, सुमना बुढाथोकी स्याउरी भूमि माध्यमिक विद्यालय शिवपुरी नुवाकोट द्वितीय, अविना कार्की भालेश्वर माध्यमिक विद्यालय पनौती काभ्रे तृतीय भएका थिए । उनीहरूलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।