१ कार्तिक २०८१, बिहिबार 1729174857
अर्थ

६ दिनमा राष्ट्र बैंकबाट झण्डै दुई हजारले साटे नयाँ नोट

काठमाडौँ । ६ दिनमा झण्डै दुई हजार जनाले ‘सुकिला नोट’को सटही गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार असोज १३ गतेदेखि आइतबारसम्म सो संख्यामा सर्वसाधारणले नोट सहटी गरेका हुन् । यसमध्ये गत साता कार्यालय खुलेको पाँच दिनमा    एक हजार ४९९ जनाले ‘सुकिला नोट’ सहटी गरेको राष्ट्र बैंकका सह–प्रवक्ता डिल्लीराम पोखरेलले जानकारी दिए । राष्ट्र बैंकले असोज १३ गते आइतबारदेखि सुकिला नोटको सटही गर्दै आएको छ । शुक्रबारसम्म कार्यालय खुलेको पाँच दिनमा सो संख्या र परिमाणमा नोट साटिएको हो । यसमध्ये आइतबार २३५ जना, सोमबार दिन २८५ जना, मंगलबार दिन २७० जना, बुधबार दिन ३९० जना र शुक्रबार ३१९ जनाले नोट सटही गरेका थिए ।

त्यस्तै, आइतबार ४५० जनाले नोट साटेका थिए । आइतबारको एक दिनमा झण्डै १५ करोड रुपैयाँ बढीको हाराहारीमा नोट सहटी भएको राष्ट्र बैंकले जनाएको छ । यो रकममा पाँच रुपैयाँदेखि एक सय रुपैयाँ दरको भएको नोट सटही मात्रै समावेश गरिएको छ । एक साताको अवधिमा झण्डै ६२ करोडको ‘सुकिला नोट’ साटिएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय नोटकोषबाट गत हप्ताको पाँच दिनमा ६१ करोड ७१ लाख बराबरको नोट सटही भएको नेपाल राष्ट्र बैंकले जनाएको छ, यो शुक्रबारसम्मको तथ्यांक हो । त्यसो त, राष्ट्र बैंकले आफू अन्तर्गत देशभरका ‘नोटकोष’ तथा सबै बैंक तथा वित्तीय संस्थाबाट समेत नोट सटहीको व्यवस्था मिलाएको जनाएको छ । यसपटक नयाँ नोट नपाएपछि नोट सटही गर्नेको संख्या ह्वात्तै घटेको छ । अघिल्लो वर्ष झण्डै १५ अर्ब र त्योभन्दा अघिल्लो वषै झण्डै २२ अर्ब रुपैयाँ नोट सहटी भएको थियो ।