९ कार्तिक २०८१, शुक्रबार 1729879795
Banner

पोखराको कारागारमा लामखुट्टे भगाउने धुप व्यवस्था गरियोस्: तोसिमा कार्की

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्कीले पोखरामा अत्यधिक डेंगी सक्रमण देखिएको उल्लेख गर्दै कारागारमा नियन्त्रणका उपायहरू अपनाउन सरकार समक्ष आग्रह गरेकी छिन्। कास्कीको ७ हजार ५ सय केसमध्ये ६ हजार ४ सय पोखरा महानगरमै रहेको उल्लेख गर्दै उनले प्रश्न गरेकी छिन्, ‘कारागारमा थुनिएकाहरूको चाहिँ स्वास्थ्य सुरक्षा हेर्न नपर्ने हो र?’ गृहमन्त्रीलाई सम्बोधन गर्दै उनले लामखुट्टे भगाउने धुप र लिक्विडसमेत थुनामा बसेका कैदीहरूलाई नदिएको भन्दै आपत्ति जनाएकी छिन्।

‘एउटा लामखुट्टे भगाउने धुप या लामखुट्टे भगाउने लिक्विडसम्म दिइएको रहेनछ। यथासिघ्र देशभरीका सम्पूर्ण थुनुवा कक्ष तथा कारागारहरूमा डेङ्गु नियन्त्रणका उपायहरू अपनाउने, लामखुट्टे भगाउने धुप तथा लिक्विड प्रदान गर्ने व्यवस्था गरियोस्,’ उनले भनेकी छिन्। पार्टी सभापति रवि लामिछाने पनि अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई सोही रात पोखरा लगेर हिरासतमा राखिएको थियो। त्यसयता रवि पक्राउ परेको विरोधमा आयोजित सभालाई सम्बोधन गर्न सांसद कार्की पनि पोखरामै छिन्। उनले थुनुवा कक्षको जानकारी लिएसँगै सामाजिक सञ्जालमार्फत सरकारलाई भनेकी छिन्, ‘थुनामा रहेका तथा कारागारमा रहेकाहरू पनि नागरिक हुन्।’