९ कार्तिक २०८१, शुक्रबार 1729887736
समाचार

ठूला जलविद्युत आयोजना अगाडि बढाउनेबारे लगानी बोर्डसँग छलफल

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ठूला जलविद्युत् आयोजनालाई अगाडि बढाउने सम्बन्धमा लगानी बोर्डसँग छलफल गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् क्षेत्रका राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउनका लागि आज लगानी बोर्डसँग मन्त्रालयमा छलफल गर्नुभएको हो । मन्त्री खड्काले जलविद्युत् क्षेत्रका राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजना त्यसको विकास र वर्तमान अवस्थाको बारेमा छलफल गर्नुभएको मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीले जानकारी दिनुभयो ।

बैठकमा अपर कर्णाली जलविद्युत् आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, वेतन कर्णाली जलविद्युत् आयोजना, अरुण तेस्रो जलविद्युत् आयोजना, पश्चिम सेती जलविद्युत् आयोजनाजस्ता आयोजनालाई सञ्चालन तथा विकास गर्नको लागि छलफल भएको थियो । “ठूला जलविद्युत् आयोजनालाई अगाडि बढाउनका लागि आवश्यकपर्ने लगानी, पूर्वाधार, कानुनी रुपरेखासहित विषयलाई समन्वयनात्मक तवरले अगाडि बढाउन बारेमा छलफल भएको छ,” वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले भन्नुभयो । बैठकमा जलाशययुक्त ठूला जलविद्युत् आयोजना निर्माण गर्दा आवश्यक पर्ने वित्तीय तथा व्यवस्थापकीय पक्षलाई बलियो बनाउँदै अगाडि बढ्नुपर्ने विषयमासमेत छलफल भएको छ । बैठकमा मन्त्रालयका सचिव सुरेश आचार्य, सहसचिव चिरञ्जीवी चटौत, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, मन्त्रालयका अर्थ विज्ञ अमित श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।