७ मंसिर २०८१, शुक्रबार 1732274174
Banner

आज छठको अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौं- आज छठ पर्वको अन्तिम दिन । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिनेछ ।

चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइन लागिएको हो ।

उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालुले ब्रत तोड्नेछन् । छठ पर्वअन्तर्गत हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी रातभर पूजाअर्चना गरेर नदी तथा पोखरी किनारमा बसेका बर्तालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्व सम्पन्न हुनेछ ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।

बर्तालुहरूले अर्घ्य सामग्री लिई सूर्यको पूजा अर्चना गर्दछन् । अर्घ्य सामग्रीमा ठेकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा छ ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएमा यसको किरणको प्रभावले चर्मरोग नहुने र पुत्र लाभ हुने विश्वास समेत रहेको छ । सूर्य उपासनाबाट लाभ र आरोग्य प्राप्त हुने पनि विश्वास गरिन्छ ।

छठ पर्वमा सूर्यलाई ‘छठी माई’ का रूपमा पूजा गर्ने चलन छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ ।