२९ कार्तिक २०८१, बिहिबार 1731582146
Banner

सांसद अधिकारी आफैँ प्रहरी कार्यालय जाँदै

विराटनगर । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान आन्तरिम मामिला तथा कानुन मन्त्री तथा प्रदेश सांसद लिलाबल्लभ अधिकारी बयानका लागि प्रहरी कार्यालय हाजिर हुने भएका छन् । अधिकारी निकट स्रोतले दिएको जानकारी अनुसार विराटनगरमा रहेका अधिकारी आज दिउँसो साढे १ बजेर ५० मिनेटमा प्लेनबाट काठमाडौँस्थित केन्द्रीय अपराध अनुसन्धान ब्युरो अन्तर्गतको मानव बेचबिखन ब्युरो जान लागेका हुन् । ‘उहाँ प्रहरी कार्यालयमा आफैँ पुगेर बयान दिन लाग्नुभएको छ,’ उक्त स्रोतले भन्यो, ‘दिउँसो १ः५० को टिकट भइसकेको छ । प्रहरीलाई सहयोग गर्न उहाँ आफैँ बयानका लागि जान लाग्नुभएको हो ।’

अधिकारीले गत कार्तिक १३ गते आफू जापान जाने क्रममा आफूसँगै नक्कली कागजात लिएका तीन जना नेपालीलाई लगेको आरोप लागेको छ । उक्त घटनामा प्रहरीले ६ जना पक्राउ गरिसकेको छ । जसमा जापान जाने खोटाङका दावा शेर्पा, जनक राई, रसुवाका कञ्चन देवकोटा रहेका छन् । यस्तै उनीहरूको नक्कली कागजात बनाउन सघाउने तीन जनामा धादिङका महेश पाण्डे, नुवाकोटका जुगल रिजाल र दोलखाका वीरबहादुर सुनुवार पनि प्रहरीले पक्राउ गरेको छ । अधिकारीले जापान नजान मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रमुख सचिव केदारनाथ शर्मा तथा मन्त्रालयका कर्मचारीहरूले दिएको सुझावको अवज्ञा गरेका थिए ।