२४ भदौ २०८३, बुधबार 1788958182
Banner

गरिबको भोट, धनीको शासन : सुदन किराती

काठमाडौँ । प्रधानमन्त्री र मन्त्रीहरूको सार्वजनिक सम्पत्ति विवरणलाई लिएर नेता सुदन किरातीले व्यङ्ग्य गरेका छन्। सामाजिक सञ्जालमा ‘गरिबको भोटमाथि धनीको शासन’ शीर्षक दिँदै उनले मन्त्रीहरूसँग रहेको अस्वाभाविक सम्पत्तिको स्रोतमाथि प्रश्न उठाएका हुन्।

किरातीले स्वदेशमा कमाउने अवसर नभएर लाखौँ युवा विदेश पलायन भइरहेको बेला केही व्यक्तिले नेपालमै कसरी यति धेरै सम्पत्ति थुपारे भन्नेमा आश्चर्य प्रकट गरे। उनले एक भुक्तभोगीको भनाइ उद्धृत गर्दै लेखेका छन्, ‘अत्यधिक सम्पत्ति कमाउन कि आफ्नो पुर्खाले गडबडी गरेको हुनुपर्छ कि आफैँले गडबडी गरेको हुनुपर्छ।’

सम्पत्ति विवरण बुझाउँदा नियमअनुसार स्रोत खुल्नुपर्ने उल्लेख गर्दै उनले ती मन्त्रीहरूले राज्यलाई कर तिरेका छन् कि छैनन् भन्दै प्रश्न गरे।  किरातीले हदबन्दीभन्दा बढी जग्गा जमिन हुनेहरूलाई कानुनअनुसार कारबाही गर्न बालेन शाह नेतृत्वको सरकारलाई समेत आग्रह गरेका छन्।