काठमाडौँ । मन्त्रीहरूको कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्री फेर्ने सङ्केत गरेका छन् । बुधबार सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिक समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले सोचेजति काम नभएको भन्दै असन्तुष्टि जनाए ।
उनले विद्यमान खराब स्थितिलाई सकारात्मक परिवर्तन ल्याउनैपर्ने बाध्यता रहेको भन्दै यही गतिको काम कारबाही र कार्यशैलीले परिवर्तन सम्भव नभएको दोहोर्याएका थिए । गत असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका ओलीले साउन ३१ गते मन्त्रिपरिषद्का सबै सदस्यलाई तीन महिनाभित्र तीव्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देशन दिएका थिए ।
‘हामी जागिर खाइरहेका छैनौँ । देश, जनताको सेवा र विकासका लागि काम गरिरहेका छौँ’, प्रधानमन्त्रीले निर्देशन दिँदै भनेका थिए, ‘भावी सन्ततिका लागि काम गरिरहेका छौँ । त्यसैले हामीले गर्ने काम हाम्रो तलबसँग तुलना हुनै सक्दैन ।’ त्यस क्रममा प्रधानमन्त्री ओलीले मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट कार्यान्वयनका साथै सरकारले गर्ने मुख्य कामबारे ठोस योजना ल्याउन मन्त्रीहरूलाई निर्देशन दिएका थिए ।
सोही अनुसार मन्त्री र सचिवहरूले कार्ययोजना बनाएर काम गरेको बताए पनि प्रधानमन्त्री ओली जनताले महसुस गर्ने गरी काम नभएको र परिवर्तनको महसुस हुन नसकेको भन्दै मन्त्रीहरूको कार्यसम्पादनप्रति सन्तुष्ट देखिएका छैनन् ।
‘खासगरी सुशासन र राजस्व सङ्कलनमा अपेक्षा अनुसार काम हुन नसकेकोमा प्रधानमन्त्री सन्तुष्ट हुन नसकेको बुधबारको समीक्षाका क्रममा देखियो’, एक मन्त्रीले रातोपाटीसँग भने, ‘व्यक्तिगत रूपमा कसैलाई ठाडै इङ्गित त गर्नुभएन तर साङ्केतिक रूपमा असन्तुष्टि पोख्नुभयो ।’ ती मन्त्रीका अनुसार सत्ता साझेदार दल नेपाली कांग्रेससहित अन्य दलका तर्फबाट मन्त्री भएकाहरूको भन्दा आफ्नै पार्टीबाट मन्त्री भएकाहरूको कार्यसम्पादन प्रभावकारी बन्न नसकेकोतर्फ प्रधानमन्त्रीको सङ्केत थियो । ‘राजस्व उठ्न नसकेको र अर्थतन्त्र चलायमान बन्न नसकेको कुरा प्रधानमन्त्रीले गर्नुभयो । त्यो कुरा अर्थ मन्त्रालयसँग सम्बन्धित छ’, ती मन्त्रीले भने ।
अर्थमन्त्रीको जिम्मेवारीमा एमालेकै उपाध्यक्ष विष्णु पौडेल छन् । पछिल्लो समय प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलबिचको सम्बन्ध खासै सुमधुर बन्न नसकेको एमालेकै नेता–कार्यकर्ताहरू बताउँछन् ।
त्यस्तै भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालको कार्यसम्पादनप्रति पनि प्रधानमन्त्री सन्तुष्ट हुन नसकेको बताइएको छ । त्यसबाहेक उद्योगमन्त्री दामोदर भण्डारी, श्रममन्त्री शरतसिंह भण्डारी, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलगायतको कार्यसम्पादनप्रति प्रधानमन्त्री सन्तुष्ट हुन सकेका छैनन् । ‘फटाफट काम गरेमा शत प्रतिशत विकास खर्च गरेर अर्थतन्त्र चलायमान बनाउन सकिन्छ तर त्यस्तो भएकोजस्तो लाग्दैन’, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने ।
त्यसो त प्रधानमन्त्री ओलीले साउन ३१ गते मन्त्रीहरूलाई निर्देशन दिने क्रममै वस्तुगत लक्ष्य निर्धारण गर्दा सफल हुन सकिने बताएका थिए । ‘अबका तीन महिनामा इतिहासका अरु कुनै तीन महिनाभन्दा बढी मेहनत गरेर काम गरौँ, धेरै काम गर्दा समस्या आउँला वा अख्तियारमा बयान दिनुपर्ला भनेर नडराऔँ’, प्रधानमन्त्री ओलीले भनेका थिए, ‘गल्ती वा भ्रष्टाचार गरिएन भने कुनै समस्या आउँदैन ।’
स्रोतका अनुसार मङ्सिर १७ गतेदेखि हुने प्रधानमन्त्रीको चीन भ्रमणपछि उनले केही मन्त्री परिवर्तन गर्ने र केहीको जिम्मेवारी हेरफेर गर्ने तयारी गरेका छन् । ‘तीन महिने समीक्षाका क्रममा प्रधानमन्त्रीले चीन भ्रमणबाट फर्केपछि कार्यसम्पादनमा कमजोर रहेका मन्त्रीहरू हटाउने र केहीको जिम्मेवारी हेरफेर गर्नेजस्तो बुझिन्छ’, एक मन्त्रीले भने, ‘त्यसमा साना दलबाहेक कांग्रेस एमालेकै मन्त्री पर्ने देखिन्छ ।’ प्रधानमन्त्री ओलीले मङ्सिर १७ देखि २० गतेसम्म चीन भ्रमण गर्दैछन् ।