१९ मंसिर २०८१, बुधबार 1733362112
Banner

उपनिर्वाचनः पछिल्लो मत परिणामअनुसार यी हुन निर्वाचित वडाध्यक्षहरु

काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नविनकुमार वान्तवा राई निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले नौ सय २३ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका लक्ष्मी नारायण चौधरीले छ सय आठ मत पाउनुभयो ।

यसैगरी सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धिरेन्द्रकुमार साह विजयी हुनुभएको छ । साहले छ सय ५२ मत प्राप्त गरी विजयी हुनुभएको हो । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुलियादेवी थरुनीले पाँच सय ८७ मत प्राप्त गर्नुभयो ।

यस्तै कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी एमालेका मोहमद ताहिर मुसलमान विजयी हुनुभएको छ । उहाँले एक हजार एक सय ५० मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत प्राप्त गर्नुभयो ।

यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी हुनुभएको छ । तिवारीले दुई हजार ६३ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । तिवारीका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका रबिकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गर्नु भयो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी हुनुभएको छ । उहाँले एक हजार एक सय सात मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

चन्दका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका बहादुर चन्दले चार सय ८७ मत प्राप्त गर्नुभयो ।

नुवाकोटको ककनी गाँउपालिका वडा नं २ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका कृष्ण घिमिरे मिलन निर्वाचित हुनुभएको छ । घिमिरेले एक हजार ८५ मत प्राप्त गर्दै बिजयी हुनुभएको हो । उहाँका अनुसार घिमिरेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्य जिम्बा तामाङले पाँच सय ८७ मत प्राप्त गर्नुभयो ।

तेह्रथुमको नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु निर्वाचित हुनुभएको छ । उहाँले चार सय ४० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत भीम निरौलाले जानकारी दिनुभयो । लिम्बुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका बुद्धबहादुर लिम्बुले तीन सय ६० मत प्राप्त गर्नुभयो ।

धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सुनिल कापर केवट निर्वाचित हुनुभएको छ । केवटले छ सय ८४ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार केवटका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अशोककुमार मण्डलले छ सय दुई मत प्राप्त गर्नुभयो ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी एमाले की सुलोचनाकुमारी भण्डारी विजयी हुनुभएको छ । भण्डारीले एक हजार सात सय ४० मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिनुभयो ।

भण्डारीकि निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले एक हजार चार सय ७४ प्राप्त गर्नुभएको छ । कूल सात हजार चार सय ६० मतदातामध्ये तीन हजार नौ सय तीन मत खसेको थियो ।

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका भुपमणि पुन मगर निर्वाचित हुनुभएको छ । उहाँले छ सय ४३ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

मगरका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका वेगम पुनले पाँच सय ३५ मत प्राप्त गर्नुभयो । साथै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नरेश जङ्ग सिंहले ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका पहलबहादुर वलीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमबहादुर पुनले सात र मङ्गोल नेशनल अर्गनाइजेसनका पूर्णबहादुर बुढाले सात मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ४ को अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका देवेन्द्रप्रसाद यादव विजयी हुनुभएको छ । यादवले तीन सय ७२ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

यादवका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगिन्द्र राय अमातले दुई सय ७७ मत प्राप्त गर्नुभयो । रौतहटको राजपुर नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका समसे आलम विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका आलमले सात सय ४४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जिकरुलाहले चार सय ६३ मत प्राप्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका मोहम्मद नसिम अख्तरले चार सय ३१, जनमत पार्टीका क्यामुदिन धुनियाले ४५, स्वतन्त्र उम्मेदवार शेख रेयाजले ३० मत प्राप्त गर्नुभएको आयोगले जनाएको छ ।

दैलेखको दुल्लू नगरपालिका–१३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी एमालेका लालबहादुर शाही विजयी हुनुभएको छ । उहाँले पाँच सय ७४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत वीरेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रेशमबहादुर शाही पाँच सय ७१ मत प्राप्त गर्नुभएको छ ।

गुल्मीको मुसिकोट नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले एक हजार एक सय ८४ मत प्राप्त गर्दै उहाँ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार श्रेष्ठका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दलबहादुर थापाले नौ सय ३० मत प्राप्त गर्नुभयो । साथै नेकपामाओवादी केन्द्रका दुर्गाबहादुर विकले एक सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापाले ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ईश्वरी खातीले पाँच मत प्राप्त गर्नुभएको छ ।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का कुमारी सावादेन निर्वाचित हुनुभएको छ । उहाँले तीन सय ५३ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिनुभयो ।

सावादेनका निकटम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अम्वी सावादेनले दुई सय ५१ मत प्राप्त गर्नुभयो ।

झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित हुनुभएको छ । ओलीले चार सय ९३ मत प्राप्त गरी विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिनुभयो ।तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, नेकपा ९माओवादी केन्द्र० का गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गर्नुभयो ।

कन्काई–६ मा कूल दुई हजार ५८ मतदाता रहेकामा एक हजार पाँच सय १३ मत खसेको निर्वाचन अधिकारी नेपालले जानकारी दिनुभयो । गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का विष्णुबहादुर रानामगर विजयी हुनुभएको छ । रानामगरले चार सय ८६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आलेले चार सय दुई मत प्राप्त गर्नुभएको मुख्य निर्वाचित अधिकृत शिवबहादुर रानभाटले जानकारी दिनुभयो । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी एमालेका दुर्गामाया राना थापाले तीन सय ४५ मत प्राप्त गर्नुभयो ।

रौतहटको इशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । खलिकले छ सय २७ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका शेख अनवारले पाँच सय ७५ मत प्राप्त गर्नुभयो ।