काठमाडौँ : मल्लकालदेखि भक्तपुरबाट नवदुर्गाका गण आएर पशुपति क्षेत्रको जयवागेश्वरीमा देखाइने नवदुर्गा नाच आजदेखि सुरु भएको छ । रणजीत मल्लको पालामा सुरु भएको नवदुर्गा नाच प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल नवमीमा पशुपतिमा आई मोक्षदा एकादशीका दिन नाच सम्पन्न गरी फर्कने चलन छ । यो नाच मोक्षदा एकादशीका दिन यही मङ्सिर २६ गते पशुपतिबाट फर्कने जनाइएको छ । नवदुर्गा, भैरव, गणेश लगायत देवी देवताको मूर्तिसहित नवदुर्गाका गण भक्तपुर दरबार क्षेत्रबाट पैदल पशुपति आउने मल्लकालदेखिको परम्परा छ । पैदल आउनेक्रममा पुलबाट समेत नहिँडी नदीमा पैतालाले टेकेर तर्नुपर्ने चलन रहेको पशुपति क्षेत्रका संस्कृतिका विषयमा अनुसन्धान गरिरहनुभएका स्थानीयवासी मुकुन्दराज वैद्यले राससलाई जानकारी दिनुभयो । नवदुर्गाका गण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट आई सोही बाटो फर्कने गरेका छन् । दुई सय वर्षभन्दा पुरानो नवदुर्गा नाचको मार्गमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यही मार्ग भएर आउने गरिएको हो ।
विमानस्थलको सुरक्षामा खटिएका सुरक्षा समूहसमेतले नवदुर्गाका गणलाई आउन दिने गरेको उहाँले बताउनुभयो । नाच देखाउने क्रममा नवदुर्गाका गण नवमी र दशमी गरी दुई रात जयवागेश्वरीस्थित नवदुर्गा डबलीअघिको देवता घरमा बस्ने गर्छन् । विगतदेखि कम्तीमा दुई सयभन्दा बढी नवदुर्गाका गण आउने गरेका छन् । विसं २०३९ देखि यो जात्रालाई सहयोग एवं समन्वय गर्दै आउनुभएका काठमाडौँ महानगरपालिका–८ का पूर्व वडा अध्यक्ष सुवर्ण वैद्य नवदुर्गा नाचका क्रममा पशुपति क्षेत्रमा धेरै दर्शकले जात्रा अवलोकन गर्ने बताउनुहुन्छ । जयवागेश्वरी ल्याएपछि देवीलाई पशुपति क्षेत्र विकास कोष अन्तर्गतको अमालकोट कचहरीका तर्फबाट बलिसहित पूजा गर्ने परम्परा छ । तान्त्रिक विधिमा आधारित नवदुर्गा नाचका क्रममा कसैले यस संस्कृतिलाई गिज्याउँदा दुष्परिणाम भोग्नुपरेका उदाहरणसमेत रहेको स्थानीय बताउँछन् । नवदुर्गा नाच पशुपति क्षेत्रसँगै बनेपाको चण्डेश्वरी, टोखा चण्डेश्वरी, साङ्ला, ठिमीलगायत स्थानका देवी मन्दिरअघिसमेत लगेर देखाउने परम्परा छ । पशुपति क्षेत्रमा हरिसिद्धिको जात्रा आउने वर्ष भने नवदुर्गाका गण आउँदैनन् ।
विगतमा हरिसिद्धि र नवदुर्गाको नाच जयवागेश्वरीमा एकैपटक आएका बेला दुवै देवीबीच झगडा भएकाले हरिसिद्धि आउने वर्ष नवदुर्गा नआउने नियम बसालिएको हो । विसं २०७८ को मार्गशीर्ष शुक्ल नवमीमा हरिसिद्धिको नाच जयवागेश्वरी आएको थियो । जाडो महिनामा जात्राको समय पर्ने भएकाले दुई रातसम्म नवदुर्गा डबलीअघि गणलाई आगो बालेर ताप्ने व्यवस्था मिलाइने गरिन्छ । यस जात्रालाई विसं २०३९ देखि स्थानीयवासीले पैसा उठाएर सहयोग गर्दै आएका छन् । यसको व्यवस्थापन हाल जयवागेश्वरी युवा क्लबले गर्दै आएका छन् । नवदुर्गाका गणलाई जयवागेश्वरीवासीले घर घरमा लगी टीका लगाइदिने र मीठा कुरा खान दिने परम्परा छ । विगतमा नवदुर्गाका गणका नाममा गुठी राखिएकामा मासिएपछि विभिन्न स्थानमा गएर जात्रा देखाउन स्रोतको समस्या हुने गरेको गणनायकको भूमिकामा रहनुभएका दयाराम वनमाला बताउनुहुन्छ । उहाँका अनुसार गुठी मासिएपछि नाच लैजाने स्थलका स्थानीयवासीको साथ र सहयोगमा यो ऐतिहासिक परम्पराले निरन्तरता पाउँदै आएको छ । नाचका क्रममा नवदुर्गालाई पशुपतिनाथको मूल मन्दिर परिसरसमेतमा परिक्रमा गराउने विधि रहेको गणका सदस्य बुद्धिबहादुर वनमालाले सुनाउनुभयो । जात्राका क्रममा तीन दिनसम्म जयवागेश्वरी मन्दिरअघिबाट सिफल जाने मार्ग बन्द गरेर नाच देखाइन्छ ।